डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड श्रीलंकासँग ८ विकेटले पराजित
काठमाडौंँ । डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड श्रीलंकासँग ८ विकेटले पराजित भएको छ । जारी विश्वकपमा इंग्ल्याण्डको यो चौथो हार हो । योसँगै इंग्ल्याण्डको सन् २०२३ एकदिवसीय विश्वकपबाट बाहिरिने सम्भावना बढेको छ ।
बेंगलुरुको चिन्नास्वामी स्टेडियममा बिहीबार टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्ड ३३.२ ओभरमा १५६ रनमै अलआउट भयो। १५७ रनको लक्ष्य श्रीलंकाले २५.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । टोलीका लागि ओपनर पाथुम निसान्का र सदिरा समरविक्रमाले शतकीय साझेदारी गरे ।दुवैले तेस्रो विकेटका लागि १२२ बलमा अविजित १३७ रन जोडे।
पावरप्लेमा २ विकेट गुमाएपछि श्रीलंकाका ओपनर पाथुम निसान्का र सादिरा समराविक्रमाले मध्य ओभरमा उत्कृष्ट ब्याटिङ गरे । दुबैले अविजित १३७ रनको साझेदारी गर्दै श्रीलंकालाई २५.४ ओभरमा सहज जित दिलाए ।
११औं र २६औं ओभरको बीचमा निसान्का र समरविक्रमाको साझेदारीलाई इङ्ल्यान्डका बलरहरूले तोड्न सकेनन् । यस क्रममा दुवै ब्याट्सम्यानले सहजै रन बनाए । निसान्काले आफ्नो १३ औं र समरविक्रमाले छैटौं एकदिवसीय अर्धशतक प्रहार गरे।
श्रीलंकाले ओपनर कुसल परेराको विकेट सुरुमै गुमाएको थियो । ९ रनको टिम स्कोरमा परेरा ४ रन बनाएर आउट भए । उनलाई डेभिड विलीले आउट गरेका थिए ।
दोस्रो ओभरमा कप्तान कुसल मेन्डिसले जो रुटको हातमा क्याच ड्रप भएर जिवनदान पाए पनि त्यसको फाइदा उठाउन सकेनन् । उनी छैटौं ओभरको दोस्रो बलमा ११ रन बनाएर डेभिड विलीको शिकार बने ।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ३३.२ ओभरमा अलआउट भयो। टोलीका लागि बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए भने ओपनर जोनी बेयरस्टोले ३० र डेविड मलानले २८ रन बनाए ।
श्रीलंकाका लागि लाहिरु कुमारले ३ विकेट लिए भने कसुन रजिथा र एन्जेलो म्याथ्युजले २र२ विकेट लिए । महिष टिक्षानाले एक सफलता प्राप्त गरे ।
श्रीलंकासँगको हारपछि इंग्ल्याण्ड अंक तालिकाको ९औँ स्थानमा छ भने श्रीलंका पाँचौं स्थानमा छ । यो हारपछि पनि इंग्ल्याण्ड विश्वकपबाट पूर्ण रुपमा बाहिरिएको छैन । टोलीसँग शीर्ष ४ मा पुग्ने सम्भावना छ ।
इंग्ल्याण्डको ५ खेलमा १ जित र ४ हारपछि २ अंक छ । टोलीको ४ खेल बाँकी छ । यस्तो अवस्थामा त्यसपछिका सबै खेल जितेर पनि १० अंक मात्र पुग्न सक्छ ।
यस्तो अवस्थामा इंग्लिस टोलीले शीर्ष ४ मा प्रवेशका लागि अन्य टोलीको प्रदर्शनमा भर पर्नु पर्नेछ । आजको खेल हारेपछि इंग्ल्याण्डले सेमिफाइनलमा चौथो स्थानको दाबी गर्न सक्नेछ । जसको प्रतिस्पर्धा अष्ट्रेलिया, पाकिस्तान, श्रीलंका र अफगानिस्तानसँग हुनेछ ।
यहाँबाट अगाडि बढ्नका लागि इंग्ल्याण्डले आफ्नो बाँकी खेल राम्रो नेट रन रेटका साथ जित्नुपर्नेछ । यस्तो अवस्थामा अष्ट्रेलियाले ४ मध्ये २ खेल हारे भने पाकिस्तान, अफगानिस्तान र श्रीलंकाले पनि एक–एक खेल हारे भने इंग्ल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना छ । इङ्ल्यान्डले अब एक खेल पनि हारे भने प्रतियोगिताबाट बाहिरिनेछ ।

टिप्पणी लेख्नुहोस्