एकदिवसीय विश्वकप : रोमाञ्चक खेलमा दक्षिण अफ्रिका एक विकेटले विजयी
काठमाडौंँ । भारतमा जारी एकदिवसीय विश्वकप अन्तर्गत चेन्नईमा भएको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ । टस हारेर पहिले बलिङ गरेको अफ्रिकी बलरले पाकिस्तानलाई ४६.४ ओभरमा २७० रनमा अलआउट गर्यो । लक्ष्य पछ्याएको अफ्रिकाले ४७.२ ओभरमा ९ विकेटले जित हात पार्यो । टोलीका जितमा ब्याटिङमा एडेन मार्करामको ९१ रन र बलिङमा तबरेज शम्सीको ४ विकेटले महत्वपूर्ण योगदान पुर्यायो।
प्रतियोगितामा पाकिस्तानको यो लगातार चौथो हार हो । खेलमा पाकिस्तानको ब्याटिङ डिपार्टमेन्टमा ले खास केही गर्न सकेन । पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि साउद शकील (५२) र कप्तान बाबर आजम (५०)ले अर्धशतकीय इनिङ्स खेलेका थिए । दोस्रो इनिङ्समा पाकिस्तानले एडेन मार्करामको विकेट चटकाएर खेल लगभग आफ्नो पक्षमा पुर्याएको थियो। तर अन्त्यमा ९ नम्बरमा आएका केशव महाराजले चौका प्रहार गर्दै अफ्रिकालाई जित दिलाए ।
२७१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले गतिलो सुरुवात गर्दै २ ओभरमा ३० रन बनाएको थियो । इनिङ्सको दोस्रो ओभर र शाहिन अफ्रिदीको पहिलो ओभरमा क्विन्टन डी ककले ४ चौका प्रहार गर्दै १९ रन बनाए । तर, चौथो ओभरको तेस्रो बलमा शाहिनले डी ककलाई क्याच आउट गर्दै प्याभिलियनको बाटो देखाएका थिए । डि ककले १४ बलमा ५ चौकाको मद्दतले २४ रन बनाए ।
त्यसपछि कप्तान टेम्बा बाभुमा र रस्सी भान डेर डुसेनले दोस्रो विकेटका लागि ३८ बलमा ३३ रन बनाए । यो बढ्दो साझेदारीलाई वासिम जुनियरले कप्तान टेम्बा बाभुमा (२८ रन) को विकेट लिएर टुङ्ग्याए। त्यसपछि ब्याटिङमा आएका एडेन मार्करामसँगै रस्सी भान डेर डुसेनले तेस्रो विकेटका लागि ५४ बलमा ५४ रन जोडे। १९ औं ओभरको पाँचौं बलमा उसामा मिरले भान डेर ड्युसेनलाई २१ रनमा प्याभिलियन पठाएर साझेदारीको अन्त्य गरे । त्यसपछि २२ औं ओभरमा १२ रन बनाएर हेनरिक क्लासेन आउट भए ।
त्यसपछि डेभिड मिलर र एडेन मार्करामले मिलेर पाँचौं विकेटका लागि ६९ बलमा ७० रन जोडे। शाहिन अफ्रिदीले डेभिड मिलर (२९ रन) लाई आउट गर्दै शतकतर्फ अघि बढेको यो साझेदारी अन्त्य गरे । यसप्रकार अफ्रिकाले ३३.१ ओभरमा २०६ रनको स्कोरमा ५ विकेट गुमाएको थियो । त्यसपछि टोलीलाई ३७ औं ओभरमा २ चौका र १ छक्काको मद्दतले १४ बलमा २० रन बनाएर प्याभिलियन फर्किएका मार्को यान्सेनको रूपमा छैटौं झटका लागेको थियो ।
त्यसपछि आफ्नो शतकको नजिक पुगेका एडेन मार्करामलाई उसामा मिरले आउट गरेपछि खेल नै फेरियो । मार्कराम ९३ बलमा ९१ रन बनाएर आउट भए । लगतै कोएत्जी १० र लुंगी एन्डिगी ४ रन बनाएर आउट भए । तर अन्त्यमा केशव महाराजको चौकाले अफ्रिकालाई जित दिलायो । महाराज ७ र शम्सी ४ रनमा अविजित रहे ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए । यसबाहेक हरिस रउफ, उसामा मिर र वासिम जुनियरले २-२ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्