एकदिवसीय विश्वकपमा भारतको लगातार छैटौं जित, इंग्ल्याण्ड १०० रनले पराजित
काठमाडौंँ । भारतले एकदिवसीय विश्वकप २०२३ मा लगातार छैटौं जित हात पारेको छ । टोलीले इंग्ल्याण्डलाई १०० रनले पराजित गरेको छ । भारतले २० वर्षपछि विश्वकपमा इंग्ल्याण्डलाई हराएको हो । टोलीले पछिल्लो पटक सन् २००३ मा डर्बन मैदानमा ८२ रनले जित हासिल गरेको थियो ।
लखनउको एकना स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको थियो । २३० रनको लक्ष्य पछ्याउन आएको इंग्ल्याण्ड टोली ३४.५ ओभरमा १२९ रन बनाएर अलआउट भयो ।
भारतका लागि बलिङतर्फ मोहम्मद शामीले ४ र जसप्रित बुमराहले ३ विकेट लिए । कुलदीप यादव र रविन्द्र जडेजाको स्पिन जोडीले ३ ब्याट्सम्यानलाई प्याभिलियन पठाएको थियो ।
भारतीय टोलीबाट कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाए । केएल राहुलले ३९ रनको इनिङ खेले । उनीअघि शुभमन गिल ९ रन, विराट कोहली शून्य र श्रेयस अय्यर ४ रन बनाएर आउट भएका थिए । इंग्ल्याण्डका डेभिड विलीले ३ विकेट लिए । आदिल रसिद र मार्क वुडले २–२ विकेट लिए ।
इंग्ल्याण्डलाई १०० रनले पराजित गर्दै भारत अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । टोली ६ खेल जितेर १२ अंकसहित नम्बर १ मा छ । अर्कोतर्फ इंग्ल्याण्डको टोली १० नम्बरमा छ । टोलीले ६ खेलमध्ये एउटा मात्र जितेको छ ।
भारतीय कप्तान रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार रन पूरा गरेका छन् । रोहितले आफ्नो ४५७ औं इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् । उनी भारतका लागि सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडीमा परे । यो क्लबमा सचिन तेन्दुलकर, विराट कोहली, राहुल द्रविड र सौरभ गांगुलीको नाम छ।

टिप्पणी लेख्नुहोस्