लेख विवरण

एकदिवसीय विश्वकपमा अफगानीस्तानले श्रीलंकालाई हरायो

एकदिवसीय विश्वकपमा अफगानीस्तानले श्रीलंकालाई हरायो

काठमाडौंँ । अफगानिस्तानले एकदिवसीय विश्वकप क्रिकेट २०२३ मा तेस्रो जित हात पारेको छ । टोलीले सोमबार (आज) १९९६ को विश्व च्याम्पियन श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । अफगानिस्तानले जारी विश्वकपमा अहिलेसम्म ३ पूर्व च्याम्पियन टोलीलाई पराजित गरेको छ । यसअघि टोलीले पाकिस्तान र इंग्ल्याण्डलाई पनि हराएको थियो ।

जितसँगै अफगानिस्तानको ६ खेलबाट ६ अंक भएको छ र टोली अब सेमिफाइनलको दौडमा पुगेको छ । यता श्रीलंकाको टोली आजको हारपछि शीर्ष ४ को दौडबाट लगभग बाहिरिएको छ । उसको ६ खेलमा ४ अंक मात्र छ ।

पुनेको मैदानमा अफगानिस्तानले टस जितेर पहिले बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको श्रीलंका ४९.३ ओभरमा २४१ रन बनाएर अलआउट भएको थियो । जवाफमा अफगानिस्तानले ४५.२ ओभरमा ३ विकेट गुमाएर जित निकालेको हो ।

अफगानिस्तानका लागि रहमत शाह (६२ रन), कप्तान हसमतुल्लाह शाहिदी (५८ रन), अजमातुल्लाह ओमरजाई (७३ रन) र ओपनर इब्राहिम जाद्रान (३९ रन)ले महत्वपूर्ण पारी खेले । यसअघि टोलीका लागि बलिङमा फजलहक फारुकीले ४ र मुजिब उर रहमानले २ विकेट लिएका थिए ।

श्रीलंकाका लागि ओपनर पाथुम निसान्काले सर्वाधिक ४६ रन बनाए भने कप्तान कुसल मेन्डिसले ३९ रनको पारी खेले । सादिरा समरविक्रमाले ३६ रन बनाए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.