एकदिवसीय विश्वकपमा भारतले श्रीलंकालाई ३०२ रनले हरायो
काठमाडौंँ । उत्कृष्ट फर्ममा रहेको भारतीय टोलीले एकदिवसीय विश्वकपमा श्रीलंकालाई ३०२ रनले पराजित गरेको छ । विश्वकप इतिहासमा भारतको यो सबैभन्दा ठूलो जित हो। जितसँगै भारतले आफ्नो १६ वर्ष पुरानो कीर्तिमान सुधार गरेको छ । टोलीले सन् २००७ मा बर्मुडालाई २५७ रनले पराजित गरेको थियो।
मुम्बईको वानखेडे स्टेडियममा पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो । दोस्रो इनिङ्समा भारतीय बलरले श्रीलंकालाई १९.४ ओभरमा ५५ रनमा अलआउट गर्यो ।
भारतका लागि मोहम्मद शामीले ५, मोहम्मद सिराजले ३ र जसप्रित बुमराहले १ विकेट लिए । स्पिनर रविन्द्र जडेजाले एक विकेट लिए । यसअघि टोलीका लागि शुभमन गिल (९२ बलमा ९२ रन), विराट कोहली (९४ बलमा ८८ रन) र श्रेयस अय्यर (५६ बलमा ८२ रन) बनाएका थिए ।
श्रीलंकाका दिलशान मदुशंकाले ५ विकेट लिए । दुष्मन्थ चमेराले एक विकेट लिए ।
जारी विश्वकपमा भारतले लगातार सातौं जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । ७ खेलमा १४ अंक जोडेको टोली अंक तालिकाको शीर्ष स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्