लेख विवरण

एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले २४ वर्षपछि न्युजिल्यान्डलाई हरायो

एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले २४ वर्षपछि न्युजिल्यान्डलाई हरायो

काठमाडौंँ । दक्षिण अफ्रिकाले २४ वर्षपछि एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डलाई हराएको छ । सन् १९९९ पछि अहिले २०२३ मा टोलीले १९० रनले जित हात पारेको हो ।

पुणेको एमसीए स्टेडियममा दक्षिण अफ्रिकाका लागि क्विन्टन डी कक र रसी भान डेर ड्युसेनले शतक प्रहार गरे भने केशव महाराजले ४ विकेट लिए ।

न्युजिल्यान्डमाथिको जितसँगै दक्षिण अफ्रिकाले ७ खेलमा ६ जित हात पार्दै १२ अंक जोडेको छ । टोली अहिले अंक तालिकाको पहिलो स्थानमा छ भने ७ खेलमा लगातार तेस्रो हारपछि न्युजिल्यान्ड चौथो स्थानमा झरेको छ । अब सेमिफाइनलको दौडमा रहन न्युजिल्यान्डले अन्तिम दुई खेल जित्नुपर्नेछ भने दक्षिण अफ्रिकाले अन्तिम दुईमध्ये एउटा खेल जितेर नकआउटमा पुग्ने छ । दक्षिण अफ्रिकाको अर्को खेल अब नोभेम्बर ५ मा भारतसँग हुनेछ । न्युजिल्याण्डले आफ्नो अर्को खेल नोभेम्बर ४ मा पाकिस्तानसँग खेल्नेछ ।

बुधबार भएको खेलमा न्युजिल्याण्डले टस जितेर पहिले बलिङ रोजेको थियो । दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनाएको थियो । टोलीले जारी विश्वकपमा चौथो पटक ३५० भन्दा बढी रन बनाएको हो । जवाफमा न्युजिल्यान्ड ३५.३ ओभरमा १६७ रन बनाएर अलआउट भयो ।

दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डी कक (११४ रन) र रसी भान डेर ड्युसेन (१३३ रन)ले शतकीय पारी खेले । दुवैले दोस्रो विकेटका लागि १८९ बलमा २०० रनको साझेदारी गरे । डेभिड मिलरले ५३ रनको योगदान दिए । न्युजिल्याण्डका टिम साउथीले २ विकेट लिए । ट्रेन्ट बोल्टले एक विकेट लिए ।

डी ककले आफ्नो एकदिवसीय करियरको २१ औं शतक प्रहार गरे । उनले विश्वकपमा चौथो शतक प्रहार गरे । उनका चारै शतक जारी विश्वकपमा बनेका छन् । उनले २०१५ र २०१९ को विश्वकपमा शतक बनाउन सकेनन् ।

डी कक विश्वकपमा सबैभन्दा धेरै शतक प्रहार गर्ने दक्षिण अफ्रिकी खेलाडी बनेका छन् । उनीपछि एबी डिभिलियर्सको नाममा २ शतक रहेको छ । विश्वकपको एक सिजनमा सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानको सुचीमा कुमार संगकारासँगै डी कक दोस्रो स्थानमा पुगेका छन् । दुबैको नाममा ४–४ शतक छ । उनी विश्वकपको एक सिजनमा ५०० भन्दा बढी रन बनाउने पहिलो दक्षिण अफ्रिकी ब्याट्सम्यान पनि बनेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.