लेख विवरण

पाकिस्तान क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोहम्मद हफिज नियुक्त

पाकिस्तान क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोहम्मद हफिज नियुक्त

काठमाडौंँ । सन् २०२३ को विश्वकप क्रिकेटमा लिग चरणबाट बाहिरिएपछि पाकिस्तानी टोलीमा धेरै परिवर्तनहरु भएका छन् । एकातिर कप्तान बाबर आजमले तीनवटै फर्म्याटको कप्तानी छोड्ने निर्णय गरेका छन् । त्यसपछि फास्ट बलर शाहिन शाह अफ्रिदीलाई कप्तान बनाइएको छ भने टेस्ट म्याचमा पाकिस्तानी टोलीको नेतृत्व शान मसुदले गर्नेछन् । पूर्व कप्तान तथा अनुभवी अलराउन्डर मोहम्मद हफिजलाई टोलीको नयाँ निर्देशक नियुक्त गरिएको छ ।साथै हाफिजलाई अब अर्को ठूलो जिम्मेवारी दिइएको छ ।

मोहम्मद हफिजलाई बिहीबार राति पाकिस्तानी टोलीको नयाँ निर्देशक बनाइएको थियो। हफिजले पाकिस्तानी क्रिकेट निर्देशकका रुपमा कार्यरत मिकी आर्थरको स्थान लिनेछन् । अब उनी अष्ट्रेलिया र न्युजिल्यान्ड भ्रमण टोलीको मुख्य प्रशिक्षकमा पनि नियुक्त भएका छन् । ४३ वर्षीय हफिजले पाकिस्तानका लागि ५५ टेस्ट, २१८ एकदिवसीय र ११९ टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। उनले पाकिस्तानी क्रिकेट टोलीको आगामी केही प्रतियोगिताका लागि मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहनेछन् । यसअघि मुख्य प्रशिक्षकको जिम्मेवारी न्युजिल्यान्डका पूर्व क्रिकेट खेलाडी ग्रान्ट ब्राडबर्नले सम्हाल्दै आएका थिए जसलाई खराब प्रदर्शनका कारण हटाइएको छ ।

मिडिया रिपोर्टका अनुसार पाकिस्तानका मुख्य प्रशिक्षक र निर्देशकको पद मर्ज गरिएको छ। मोहम्मद हफिजले सन् २००३ मा बंगलादेश विरुद्ध आफ्नो पहिलो टेष्ट खेल खेलेका थिए, सोही वर्ष जिम्बाब्वे विरुद्ध एकदिवसीय क्रिकेटमा पनि डेब्यु गरेका थिए । हफिजले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०२१ मा अष्ट्रेलियाविरुद्ध दुबईमा खेलेका थिए। राष्ट्रिय टोलीको निर्देशक बन्नुअघि उनी पीसीबीको क्रिकेट प्राविधिक समितिको सदस्य थिए तर विश्वकप सुरु हुनुअघि नै केही कारण देखाउँदै उनले उक्त पदबाट राजीनामा दिएका थिए ।

आफ्नो खेल करियरमा हफिज विश्वकै उत्कृष्ट अलराउन्डरको सूचीमा रहेका थिए । उनले क्रिकेटका तीनवटै ढाँचामा कुल ३९२ अन्तर्राष्ट्रिय खेल खेले, जसमा हाफिजले १२ हजार ७८० रन बनाएका थिए। यस अवधिमा हफिजले अफ स्पिन बलिङबाट २५३ विकेट लिएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा उनको अनुभवलाई ध्यानमा राख्दै उनलाई निर्देशकसँगै मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हो । हाल उनले अष्ट्रेलियाविरुद्धको तीन टेष्ट र न्युजिल्यान्डविरुद्धको पाँच टी–२० खेलमा प्रशिक्षक र निर्देशकको दोहोरो भूमिका निर्वाह गर्नेछन् ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.