विश्वकप क्रिकेटको फाइनल खेलमा प्यालेस्टाइन समर्थक अचानक मैदानभित्र पसेपछि....
काठमाडौंँ । अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा जारी विश्वकप क्रिकेटको फाइनल खेलमा सुरक्षा उल्लंघन भएको छ । भारत र अस्ट्रेलियाबीचको खेलको बीचमा प्यालेस्टाइनका एक समर्थक अचानक मैदानभित्र पसेका थिए । उनी विराट कोहलीसँग जोडिन बाध्य भए । खेलमा प्रवेश गरेका ती युवकले अनुहारमा मास्क लगाएका थिए भने 'आजाद प्यालेस्टाइन' लेखिएको टिसर्ट लगाएका थिए ।
उनले आफ्नो हातमा प्यालेस्टाइनको झण्डा पनि लिएका थिए । तर, त्यहाँ उपस्थित सुरक्षाकर्मीले उनलाई तुरुन्तै समाते । उनलाई सोधपुछका लागि चन्दखेडा प्रहरी चौकीमा लगिएको छ । यहाँ उनले आफू अष्ट्रेलियाको नागरिक भएको र आफ्नो नाम जोन भएको बताएका थिए । उनी विराट कोहलीलाई भेटेर प्यालेस्टाइनको समर्थन गर्न चाहन्थे । विश्वकप फाइनल हेर्न नरेन्द्र मोदी स्टेडियममा बलिउड सेलिब्रेटीसहित एक लाखभन्दा बढी मानिस पुगेका छन् ।
प्यालेस्टाइनसमर्थकले विराट कोहलीको काँधमा पनि हात राखे । त्यसपछि उनलाई समात्न सुरक्षा अधिकारीहरु मैदानमा दौडिरहेका देखिन्थे । यो घटना १४ औं ओभरको तेस्रो बलपछि भएको हो । यस क्रममा केएल राहुल कोहलीसँग मैदानमा खेलिरहेका थिए ।
विश्वकप फाइनलअघि पाकिस्तानी टोलीका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले इजरायल–हमास युद्धको मुद्दा उठाएका थिए । श्रीलंका विरुद्धको खेलमा विजयी शतक बनाएपछि उनले सामाजिक सञ्जालमा "यो गाजाका जनताको नाममा" भनेर लेखेका थिए । त्यही क्रममा इडेन गार्डेनमा पाकिस्तान र बंगलादेशबीचको खेलमा केही युवाले प्यालेस्टाइनको झण्डा बोकेका थिए । प्यालेस्टाइनको समर्थनमा यहाँ नारा समेत लगाइएको थियो ।
इजरायल–हमास युद्धबाट क्रिकेट मात्र होइन फुटबल पनि अछुतो रहन सकेको छैन । गत महिना, फ्रान्सेली क्लबबाट खेल्ने अल्जेरियन फुटबलर युसेफ अटलले प्यालेस्टाइनको समर्थनमा पोस्ट पोस्ट गरेका थिए। त्यसपछि उनलाई निलम्बन गरिएको थियो । क्लबका अनुसार अटलले एक भिडियो सेयर गरेका थिए जसमा यहूदीहरू विरुद्धको हिंसालाई समर्थन गरिएको थियो।

टिप्पणी लेख्नुहोस्