अस्ट्रेलिया टेस्ट भ्रमणका लागि पाकिस्तानी टोली घोषणा
काठमाडौंँ । ओपनर सईम अयूब र तीव्र गतिका बलर खुर्रम शहजादले टेस्टमा पाकिस्तानका लागि डेब्यु गर्ने भएका छन् । यी दुवै आगामी अस्ट्रेलिया टेस्ट भ्रमणका लागि टोलीमा छनोट भएका हुन् ।
पाकिस्तानले शान मसूदको कप्तानीमा अस्ट्रेलियाविरुद्ध तीन टेस्टको सिरिज खेल्ने भएको छ । पहिलो टेस्ट डिसेम्बर १४ पर्थ, दोस्रो डिसेम्बर २६ मेलबर्न र अन्तिम टेस्ट जनवरी ३ सिड्नीमा सुरु हुनेछ ।
२१ वर्षीय सईमले पाकिस्तानका लागि आठ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् र प्रथम श्रेणी क्रिकेटमा ४६.४७ को औसतमा १,०६९ रन बनाएका छन् । जसमा उनले सन् २०२३ को अक्टोबरमा खेलेका २०३ रन र १०९ रनको पारी पनि समावेश छ ।
त्यस्तै मीर हमजा र फहीम अशरफले पनि टोलीमा पुनरागमन गरेका छन् । विश्वकपअघि काँधमा लागेको चोटका कारण प्रतियोगिताबाट बाहिरिएका नसीम शाह अहिले पनि चोटबाट मुक्त भइसकेका छैनन् । नसीमबाहेक हरिस रउफ पनि टोलीमा छैनन् ।
हालै मुख्य चयनकर्तानियुक्त भएका वहाब रियाजले टोलीको घोषणा गर्दै भने, 'हारिसले अन्तिम समयमा आफूलाई अनुपलब्ध बनाए र मलाई लाग्छ कि उनको निर्णयले पाकिस्तान क्रिकेटलाई धेरै चोट पुर्याउनेछ।'
पाकिस्तानी टोली : शान मसूद (कप्तान), आमिर जमाल, अब्दुल्ला शफीक, अबरार अहमद, बाबर आजम, फहीम अशरफ, हसन अली, इमाम उल हक, खुर्रम शहजाद, मीर हमजा, मोहम्मद रिजवान, मोहम्मद वसीम जूनियर, नौमान अली, सईम अयूब, सलमान आगा, सरफराज अहमद, सऊद शकील, शाहीन अफरीदी।

टिप्पणी लेख्नुहोस्