आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरू
काठमाडौँ । नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा एकचालिसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० बुधबारदेखि सुरू भएको छ । प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।
प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले नेपाल प्रहरीमा हुने आन्तरिक खेलकुद प्रतियोगिता स्तरीय खेलाडी उत्पादनको आधारका रूपमा रहेकाले प्रतियोगिताको सम्भाव्यता खोजी गरी सञ्चालनको लागि प्रयास गरिने प्रतिवद्धता व्यक्त गरे । साथै प्रतियोगितामा सहभागी टिमलाई खेल अवधिभर उच्च अनुशासनमा रही आफ्नो खेल कौशल प्रदर्शन गर्न समेत उनले आग्रह गरे ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक रूकेश तण्डुकारले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । आजै भएको पहिलो खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टिमले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरलाई पाँचका विरूद्ध शून्य गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो ।
मङ्सिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकासाथै सातवटै प्रदेश प्रहरी कार्यालयका टिमको सहभागिता रहेको छ ।

टिप्पणी लेख्नुहोस्