यौन दुर्व्यवहार आरोपमा ब्राजिलीयन फुटबल खेलाडीमाथी ९ वर्ष जेल सजाय माग
काठमाडौंँ । गत वर्ष एक महिलासँग यौन दुर्व्यवहार गरेको आरोपमा ब्राजिलका फुटबल खेलाडी दानी अल्भेसलाई नौ वर्षको जेल सजाय सुनाउन सम्बन्धित पक्षका वकिलहरूले माग गरेका छन् । यौन दुर्व्यवहारको मुद्दामा खेलाडीलाई स्पेनिस अदालतले दोषी ठहर गरेपछि वकिलहरूले ९ वर्षको जेल सजाय माग गरेका हुन् ।
आल्भेसमाथि बार्सिलोनाको एक नाइट क्लबमा एक महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा गत वर्षको डिसेम्बर ३० मा मुद्दा चलाइएको थियो । उनलाई यसै वर्षको अगष्टमा दोषी ठहर गरिएको थियो । अदालतले उनीविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण रहेको बताएको थियो । मुद्दाको सुनुवाइको मिति भने तय भएको छैन । यद्यपि, आल्भेसले कुनै पनि गलत काम को खण्डन गरेका छन्। उनले आरोप लगाउने महिलासँग आफूले सहमतिमा यौन सम्बन्ध राखेको दाबी गरेका छन् ।
प्रोसिक्यूटरहरूले आल्भेसले पीडितलाई १,५०,००० युरो क्षतिपूर्ति तिर्नुपर्ने र उनलाई १० वर्षका लागि कुनै पनि सम्पर्कमा आउन प्रतिबन्ध लगाउन माग गरेका छन्। उनीहरू आल्भेसलाई जेल सजाय भुक्तान गरेपछि एक दशकसम्म निगरानीमा राख्न पनि चाहन्छन्। ब्राजिलका ४० वर्षीय यी खेलाडी जनवरीदेखि 'प्रि–ट्रायल' जेलमा छन् । अधिकारीहरूको प्रारम्भिक अनुसन्धानपछि उनलाई पक्राउ गरिएको थियो।
आल्भेसले बार्सिलोनाबाट तीन च्याम्पियन्स लिग र ब्राजिलबाट दुई पटक कोपा अमेरिकाको उपाधि सहित ४२ वटा फुटबल उपाधि जितेका छन् । उसले गत वर्ष कतारमा तेस्रो पटक विश्वकप खेलेको थियो । अदालतले आल्भेसलाई देश छोड्न सक्ने ठहर गरेपछि उनको जमानतका लागि गरिएको सबै निवेदन खारेज गरिएको छ । खेलाडीले अदालतको फैसला पर्खँदै आफ्नो राहदानी पेश गर्न र 'ट्रयाकिङ डिभाइस' लगाउन प्रस्ताव गरेका थिए । उनका वकिलले यस विषयमा टिप्पणीका लागि गरिएको अनुरोधमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

टिप्पणी लेख्नुहोस्