लेख विवरण

बेन स्टोक्सले यो सिजनको आइपिएल नखेल्ने

बेन स्टोक्सले यो सिजनको आइपिएल नखेल्ने

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को तयारी सुरु भई सकेको छ । प्रतियोगिताको आगामी सिजनका लागि खेलाडी अक्सन रोडम्याप तयार भइरहेको छ । अक्सन डिसेम्बर १९ का दिन दुबईमा हुनेछ । तर यसअघि डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किङ्स (सीएसके) लाई ठूलो झट्का लागेको थियो । इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सले यो सिजन खेल्न अस्वीकार गर्दै आफ्नो नाम फिर्ता लिएका छन् ।

स्टोक्सले आफ्नो काम र फिटनेसलाई ध्यानमा राखेर यो निर्णय लिएका हुन् । सीएसकेले इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट शेयर गर्दै काम व्यवस्थापन र फिटनेसका कारण बेन स्टोक्सले अर्को सिजनमा नखेल्ने जानकारी दिएको छ । पोस्टमा लेखिएको छ "इङ्ल्यान्डका कप्तान तथा अलराउण्डर बेन स्टोक्सले आफ्नो काम र फिटनेस सुधार्न आईपीएल २०२४ का लागि आफूलाई उपलब्ध नगराउने निर्णय गरेका छन्। उनले हालै एकदिवसीय विश्वकपमा भाग लिएका थिए ।"

"चेन्नई सुपर किंग्सको व्यवस्थापनले बेनको काम व्यवस्थापन गर्ने निर्णयमा समर्थन गरेको छ र इंग्ल्यान्डले आईपीएल र त्यसपछि जुन २०२४ मा टी-२० विश्वकप अघि भारतमा ५ टेस्टको शृङ्खला खेल्नेछ।"

स्टोक्सले सन् २०१७ मा राइजिङ सुपरजाइन्टबाट १४.५ करोड भारुमा आईपीएल डेब्यु गरेका थिए । यी इंग्लिस क्रिकेटरले आफ्नो पहिलो सिजनमा शानदार प्रदर्शन गर्दै १२ म्याचमा १४२.९८ को प्रभावशाली स्ट्राइक रेटको साथ ३१६ रन बनाएका थिए।

स्टोक्सले आइपिएलको ४५ खेलमा ९ सय ३५ रन बनाउनुका साथै २८ विकेट लिएका छन् । चोटका कारण स्टोक्सले गत सिजनमा दुई खेल मात्र खेल्न पाएका थिए । चेन्नई सुपर किंग्ससँग सम्बन्धित एक स्रोतका अनुसार चेन्नईले स्टोक्सको विकल्पमा न्युजिल्यान्डका अलराउन्डर डेरिल मिचेललाई लिन सक्छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.