लेख विवरण

नेपालगन्ज म्याराथनको उपाधि पार्कीलाई

नेपालगन्ज म्याराथनको उपाधि पार्कीलाई

नेपालगन्ज । नवौँ नेपालगन्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् । उपाधिसँगै पार्कीले दुई लाख नगद पुरस्कार पनि जितेका छन् ।

उनले आठौँ नेपालगन्ज म्याराथनका विजेता नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै उपाधि जिते । पार्कीले यसअघि छैटौँ संस्करणको उपाधि पनि जितेका थिए ।

नेपाली सेनाका खड्काले दोस्रो स्थानमा चित्त बुझाउँदै एक लाख पुरस्कार पाए । एपीएफकै किरणसिंह बोगटीले तेस्रो स्थान हासिल गर्दै नगद ५० हजार रुपियाँ पुरस्कार पाए ।

महिलातर्फको म्यराथनमा भने सन्तोषी श्रेष्ठले लगातार तेस्रो पटक जितेर उपाधिमा ह्याट्रिक गरेकी छन् । सातौँ संस्करणबाट लगातार प्रथम स्थान हासिल गरेर श्रेष्ठले महिला म्याराथनमा ह्याट्रिक गरिन् । यस्तै फूलमती राना द्वितीय र पुष्पा भण्डारीले तृतीय स्थान प्राप्त गरे ।

प्रथम स्थान हासिल गरेकी सन्तोषीले ७५ हजार रुपियाँ प्राप्त गरिन भने दोस्रो भएकी रानाले ५० हजार र तेस्रो हुन सफल भण्डारीले २५ हजार नगद पुरस्कार पाए ।

सोही प्रकारले ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार रुपियाँबाट पुरस्कृत गरिएको छ । किड्स रन तर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिएको छ ।

प्रतियोगिता क्रियटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभगञ्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा गरिएको थियो । नेपाल सरकार र तत्कालीन सशस्त्र माओवादीका बिचमा मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा नेपालगन्ज म्याराथन हुँदै आएको छ ।

एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यता पाएको नेपालगन्ज म्याराथनमा गत वर्षदेखि इलेकट्रोनिक्स टाइमिङ चिप्स प्रयोग गरिँदै आएको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.