केपी ओली कप टी–२० क्रिकेट : कर्णाली प्रदेश र एपीएफ क्लब विजयी
काठमाडौंँ । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश र एपीएफ क्लब विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई ४ विकेटले पराजित गरेको छ ।
पोखरा रङ्गशाला क्रिकेट मैदानमा भएको खेलमा आयोजक रातोले दिएको ११० रनको लक्ष्य कर्णालीले १८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
टस जितेर ब्याटिङ गरेको मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका लागि रोशन गौतमले ३०, निर्मल थापा १७, निश्चल ग्यावतीले १९, र सेहजाद आमलले १६ रन बनाए । कर्णालीका प्रकाश जैसीले २ विकेट लिए ।
११० रनको लक्ष्य पछ्याउँने क्रममा कर्णालीका लागि दीपेन्द्र रावतले ४३, प्रकाश जैसीले १९ र निश्चल रावल १५ रन बनाए । आयोजक एकेडेमी रातोका सन्तोष यादव र विप्रासन केसीले समान २ विकेट लिए ।
शनिवार भएको दोस्रो खेलमा एपीएफ क्लब ८४ रनले विजयी भएको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रनमै समेटियो । लुम्बिनीलाई समेट्न ४ ओभर बलिङ गरेका एपीएफका अरुण ऐरीले ७ रन दिँदै ५ विकेट हात पारे ।
लुम्बिनीका निर्मल गुरुङले सर्वाधिक १४ रन जोड्दा रोशन गुप्ताले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् । एपिएफका भुवन कार्कीले २, अविनाश बोहरा र अमर रौतालाले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । लोकेश बमले विष्फोटक पारी खेल्दै १३ बलमा ३ चौका, ३ छक्काको मद्दतमा ३२ रन बनाउँदा एपिएफले सम्मानजनक स्कोर खडा गरेको थियो ।
गण्डकीसँग एक खेल गुमाएको एपिएफलाई सेमिफाइनल प्रवेशका लागि अनिवार्य जित निकाल्नुपर्ने दबाबमा रहेको एपिएफका लागि कप्तान प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पूरण विकले २३, सुमित महर्जनले १८ र अशिफ शेखले १३ रनको योगदान दिए ।
जितसँगै समूह ‘बि’मा रहेको एपीएफले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । एक–एक खेल जित्दै एपीएफ र गण्डकीको समान २–२ अङ्क छ । सेमिफाइनलको टुङ्गो आइतबार हुने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको खेलबाट लाग्नेछ । गण्डकीले जित निकालेको खण्डमा एपीएफ प्रतियोगिताबाट बाहिरिनेछ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, वेस्ट व्यटार र बलरले जनही नगद २०-२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् ।

टिप्पणी लेख्नुहोस्