नेपाल सम्मिलित यू-१९ एसिया कपका लागि भारतीय टोली घोषणा
काठमाडौंँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले सन् २०२३ मा आयोजना हुने यू–१९ एसिया कपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीको कप्तानी पञ्जाबका लागि खेल्ने उदय सहारनलाई दिइएको छ । प्रतियोगिता संयुक्त अरब इमिरेट्स (युएई)मा डिसेम्बर ८ देखि १७ सम्म आयोजना हुँदैछ ।
भारतीय टोली यू–१९ एसिया कपको डिफेन्डिङ च्याम्पियन हो । अर्थात् गत सिजनको उपाधि भारतले जितेको थियो । भारतको यू–१९ टिम प्रतियोगिताको सबैभन्दा सफल टिम हो । यू–१९ एसिया कप भारतीय टिमले सर्वाधिक ८ पटक जितेको छ ।
सन् २०२३ को एसिया कपका लागि जुनियर क्रिकेट कमिटीले १५ सदस्यीय टोलीको छनोट गरेको छ । त्यस्तै, ३ जना ट्राभलिङ स्ट्यान्डब्वाई खेलाडीलाई टोलीमा समावेश गरिएको छ । यसबाहेक चार जना रिजर्भ खेलाडीको पनि घोषणा गरिएको छ, जो टोलीसँग युएई जाने छैनन् ।
यू–१९ एसिया कपमा आयोजक युएईसँगै नेपाल, भारत, पाकिस्तान, अफगानीस्तान, बङलादेश, श्रीलंका र जापानले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल पाकिस्तान विरुद्ध डिसेम्बर ८ मा आइसीसी एकेडमी ओभल-२ दुबईमा खेल्ने छ । नेपाल रहेको समुहमा अफगानीस्तान, भारत र पाकिस्तान रहेका छन । नेपालले आफ्नो दोस्रो खेल डिसेम्बर १० मा अफगानीस्तान र तेस्रो डिसेम्बर १२ मा भारत विरुद्ध खेल्ने छ ।
यू–१९ एसिया कपका लागि १५ सदस्यीय भारतीय टोली : अर्शिन कुलकर्णी, आदर्श सिंह, रुद्र मयुर पटेल, सचिन धस, प्रियंशु मोलिया, मुशीर खान, उदय सहारन (कप्तान), अरावेल्ली अवनीश राव (विकेटकिपर), सौम्य कुमार पाण्डे (उपकप्तान), मुरुगन अभिषेक, इनेश महाजन (विकेटकीपर), धनुष गौडा, आराध्या शुक्ला, राज लिम्बानी र नमन तिवारी।

टिप्पणी लेख्नुहोस्