केपी ओली कप राष्ट्रिय क्रिकेट : लुम्बिनीले गण्डकीलाई हरायो
काठमाडौंँ । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा लुम्बिनीले गण्डकी प्रदेशलाई ५ रनले पराजित गरेको छ । पोखरा क्रिकेट मैदानमा लुम्बिनीले दिएको १०४ रनको लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा अलआउट हुँदै ९८ रनमै सिमित भयो । लुम्बिनीका लागि मोहम्मद हुसैनले किफायती बलिङ गर्दै ३.५ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । गण्डकीका सुदिप अर्यालले सर्वाधिक ३५ रन बनाउदा कप्तान बिपिन खत्रीले १९, दिनेश बुढा मगर १३ र कमल परियारले ११ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०३ रन बनाएको थियो । टोलीका लागि ध्रुव सुनार र नर सार्किले समान २३-२३ रनको योगदान दिएका थिए । विराट भण्डारी १६ र मिर्नल गुरुङले ११ रन बनाएर आउट भएका थिए । गण्डकीका लागि अमृत गुरुङले ३, चन्द्र पौडेलले २ तथा सुदिप अर्याल र दिनेश बुढा मगरले समान १-१ विकेट लिएका थिए । लुम्बिनीका लागि अजय लुनिया ३, रमेश कुर्मी २ तथा अभिषेक गौतमले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच लुम्बिनीका मोहम्मद हुसैन भए ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, वेस्ट व्यटार र बलरले जनही नगद २०-२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् ।

टिप्पणी लेख्नुहोस्