लेख विवरण

डारेन ब्राभोद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट 'ब्रेक' लिने घोषणा

डारेन ब्राभोद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट 'ब्रेक' लिने घोषणा

काठमाडौंँ । वेस्ट इन्डिजका ब्याट्सम्यान डारेन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट ब्रेक लिने घोषणा गरेका छन् । ब्राभोले टोलीमा निरन्तर उपेक्षा भएको भन्दै आक्रोशित हुँदै यस्तो निर्णय लिएका हुन् । इंग्ल्यान्डविरुद्धको एकदिवसीय शृंखलाका लागि टोलीमा छनोट नभएपछि उनले सन्यासको संकेत गरेका छन् । ३४ वर्षीय ब्राभोले सन् २०२२ मा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

डेरेन ब्राभोले इन्स्टाग्राममा एक नोट शेयर गरेका छन्, जसमा उनले लेखेका छन्, "क्रिकेटरको रुपमा अगाडि बढ्ने मेरो अर्को कदम के हुन सक्छ भनेर सोच्न मैले धेरै समय लिएँ । त्यही ऊर्जा, जोश, प्रतिबद्धता र अनुशासनका साथ अब मलाई टिममा खेल्न सजिलो छैन । अहिले क्रिकेटका तीनै फर्म्याटमा देशका लागि खेलिरहेका धेरै खेलाडीहरु छन्, जसको संख्या ४० देखी ४५ सम्म छ, तर मैलै रन बनाउदा पनि पनि टिममा पर्न सकेको छैन । म हार मान्दिनँ, मलाई विश्वास छ कि केही समयको लागि टाढा जानु नै मेरो लागि उत्तम हुनेछ, यसले युवा र उदीयमान प्रतिभाहरूको लागि केही स्थान सिर्जना गर्न सक्छ।"

डेरेन ब्राभोले वेस्ट इन्डिजका लागि ५६ टेस्ट, १२२ एकदिवसीय र २६ टी–२० खेल खेलेका छन् । ५६ टेस्ट म्याचमा उनले ३६.१ को औसतमा ३ हजार ५३८ रन बनाएका छन्, जसमा ८ शतक (एक डबल सेन्चुरी) र १७ अर्द्धशतक रहेका छन् । उनले १२२ एकदिवसीय खेलमा चार शतक र १८ अर्धशतकसहित ३ हजार १०९ रन बनाएका छन् । उनले २६ टी–२० खेलमा ४०५ रन बनाएका छन् । सन् २०२२ को फेब्रुअरीमा उनले भारतविरुद्ध अन्तिम एकदिवसीय खेलेका थिए । उनी सन् २०२० देखि टेस्ट क्रिकेटबाट टाढा छन् । सन् २०२२ को जनवरीमा उनले अन्तिम टी–२० म्याच खेलेका थिए । डेरेन ब्राभो आइपिएलमा कोलकाता नाइट राइडर्सका सदस्य थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.