सामुदायिक विद्यालयका छात्रालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको प्रशिक्षण
मोरङ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सहयोगमा नेपालका सामुदायिक विद्यालयका छात्रालाई क्रिकेटप्रति जागरुक एवं प्रशिक्षण दिन सुरु गरिएको छ ।
बेलायतमा क्रिकेट क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउन्डरी र नेपाल क्रिकेट फाउन्डेसनद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा आजदेखि १० देखि २३ गतेसम्म १४ दिने सामुदायिक विद्यालयका छात्रालाई प्रशिक्षण दिन थालिएको जानकारी दिइयो ।
तल्लो तहदेखि र महिला क्रिकेट उत्थानका लागि कोशी प्रदेशको विराटनगर, इटहरी, धरान, धनकुटा तथा मधेस प्रदेशको राजविराज, लहान र कल्याणपुरमा खेलसामग्री प्रदान, क्रिकेटको प्रशिक्षण तथा प्रतियोगिता आयोजना गरिनेछ ।
आइसिसीकी सदस्य सारा वेगले नेपालका छात्रालाई क्रिकेटप्रति उत्साह तथा सीप प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिइन । उनले विगतदेखि यस क्षेत्रमा वाउन्डरीमार्फत छात्रालाई खेल सामग्री सहयोग गर्नाका साथै फरक ढङ्गबाट दिएको प्रशिक्षणबाट अन्तर्राष्ट्रिय रुपमा खेल्ने खेलाडी तयार भएको उदाहरण रहेको बताइन् ।
फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले विगत छ वर्षदेखि छात्रालाई क्रिकेटको प्रशिक्षणबाट यस क्षेत्रमा नयाँ खेलाडी उत्पादन हुनाका साथै खेलाडीमा खेलप्रति जागरुक एवं आत्मबल बृद्धि भएको विश्वास व्यक्त गरे ।
आइसिसीको प्रत्यक्ष निगरानीमा यही मङ्सिर १२ गते विराटनगरका सत्यनारायण, सरस्वती, महेन्द्र मावि र आदर्श बालिका विद्यालयका छात्राको क्रिकेट प्रतियोगिता हुने भएको छ । छात्रालाई क्रिकेटप्रति जागरुक गराउन एवं प्रशिक्षण दिन आइसिसीबाट अली मेकरेडी, गोलाण्ड हरिस, साकिव मिहास, सारा बेग, काज मिलहाल, रव वेली आएका छन् ।

टिप्पणी लेख्नुहोस्