लेख विवरण

केपी ओली कप क्रिकेट : मधेश प्रदेशले सुदुरपश्चिमलाई ८ विकेटले हरायो

केपी ओली कप क्रिकेट : मधेश प्रदेशले सुदुरपश्चिमलाई ८ विकेटले हरायो

काठमाडौंँ । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सुदुरपश्चिमलाई ८ विकेटले पराजित गरेको छ । सुदुरपश्चिमले दिएको ५९ रनको लक्ष्य मधेशले मात्र ४.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो । टोलीको जितमा अनिल साहले सर्वाधिक (२५) रनको योगदान दिए । इमरान शेख (१७) र पवन सर्राफले अविजित (१४) रन बनाए । सुदुरपश्चिमका लागि गजेन्द्र बोहराले २ विकेट लिए ।

यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले १५.५ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनायो । सुदुरपश्चिमलाई कम स्कोरमा रोक्न मधेश प्रदेशका कप्तान हरि शंकर साहले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रुपेश सिंहले ३ विकेट लिदा विशाल पटेल, प्रदिप पासवान र विशाल सुसलिङले समान १-१ विकेट लिए । सुदुरपश्चिमका नरेन साउदले सर्वाधिक १८ रन बनाउदा किरण ठगुन्ना र भोज राज भट्टले समान १०-१० रन बनाए । त्यसबाहेक टोलीका अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । खेलको प्लेयर अफ द म्याच मधेश प्रदेशका हरि शंकर साह भए ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तस्बिरः राधिका कँडेल / रासस

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.