श्रीलंका क्रिकेट बोर्ड निलम्बन गर्ने खेलमन्त्रीलाई राष्ट्रपतिले गरे बर्खास्त
काठमाडौंँ । श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिंघेले खेलमन्त्री रोशन रणसिंघेलाई बर्खास्त गरेका छन् । भारतमा सम्पन्न एकदिवसीय विश्वकपमा टोलीले खराब प्रदर्शन गरेपछि रणसिंघेले नोभेम्बर ६ मा श्रीलंका क्रिकेट (एसएलसी) को सम्पूर्ण बोर्डलाई निलम्बन गरेका थिए र विश्वकप विजेता कप्तान अर्जुन रणतुंगाको अध्यक्षतामा अन्तरिम समिति गठन गरेका थिए।
त्यसको एक दिनपछि पुनरावेदन अदालतले एसएलसी पुनःबहाली गरेको थियो । रोशन रणसिंघेको बहिर्गमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई एसएलसीको निलम्बन फुकुवा गर्न सहज हुन सक्छ तर निश्चित भएको छैन ।
रोशनको स्थानमा पर्यटन तथा भूमि मन्त्री हरिन फर्नान्डोलाई खेलकुद र युवा मामिलाको जिम्मेवारी दिइएको छ । यसअघि रोशनले सोमबार संसदमा राष्ट्रपतिविरुद्ध आरोप लगाएका थिए । उनले देशको क्रिकेट प्रशासनमा भएको भ्रष्टाचारको पर्दाफास गरेका कारण आफ्नो ज्यानखतरामा परेको दाबी गरेका थिए ।
विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि रोशनले श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) लाई बर्खास्त गरेका थिए । श्रीलङ्का क्रिकेटका लागि अन्तरिम बोर्ड पनि गठन गरिएको थियो । सन् १९९६ को विश्वकप विजेता टोलीका कप्तान अर्जुन रणतुंगालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको खेलमन्त्री रोशन रणसिंघेको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो। त्यसको एक दिनपछि पुनरावेदन अदालतले एसएलसी पुनःबहाली गरेको थियो ।
यसअघि भारतसँग पराजित भएपछि खेलमन्त्री रोशन रणसिंघेले नोभेम्बर ३ मा एक वक्तव्य जारी गर्दै श्रीलङ्का क्रिकेट बोर्डलाई देशद्रोही र भ्रष्ट भनेका थिए । उनले बोर्डका सदस्यको राजीनामा माग गरेका थिए । श्रीलंका क्रिकेट सचिव मोहन डि सिल्भाले गत नोभेम्बर ४ मा आफ्नो पदबाट राजीनामा दिएका थिए । बोर्डमाथी भ्रष्टाचारको आरोप पनि लागेको थियो ।

टिप्पणी लेख्नुहोस्