BAN VS NZ : दोस्रो दिनको खेलमा विलियम्सनले बनाए शतक, बंगलादेशको उत्कृष्ट बलिङ
काठमाडौंँ । केन विलियम्सनको शतकमा न्युजिल्यान्डले बंगलादेशविरुद्ध पहिलो टेस्टमा पुनरागमन गरेको छ । दोस्रो दिनको खेल सकिँदा न्युजिल्यान्डले ८ विकेट गुमाएर २ सय ६६ रन बनाएको छ । पहिलो इनिङ्सको आधारमा न्युजिल्यान्ड बंगलादेशभन्दा ४४ रनले पछाडी रहेको छ ।
बंगलादेशले पहिलो इनिङ्समा ३ सय १० रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डका लागि केन विलियम्सनले शतककीय पारी खेले । उनले २०५ बलमा ११ चौकासहित १०४ रन बनाए । टेस्टमा सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा विलियम्सनले विराट कोहलीको बराबरी गरेका छन् । बुधबार विलियम्सनले बनाएको शतक उनको टेस्ट करियरको २९ औं शतक हो ।
दोस्रो दिनको खेल सुरु हुँदा बंगलादेश ३ सय १० रनमा अलआउट भएको थियो । बंगलादेशले पहिलो बलमै अन्तिम विकेट गुमाएको थियो । टिम साउथीले पहिलो बलमा शोरिफुल इस्लामलाई एलबीडब्लु आउट गरेका थिए । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ४, काइल जेमिसन र एजाज पटेलले २–२ विकेट लिए ।
त्यसपछि ब्याटिङ गरेको न्युजिल्यान्डका दुवै ओपनर ५० रनमा आउट भए । सिनियर खेलाडी केन विलियम्सनले टोलीको इनिङ सम्हाल्ने जिम्मेवारी लिए र हेनरी निकोलससँग ५४ रनको साझेदारी गरे पनि निकोलस केही समयपछि पेभेलियन फर्किए ।
त्यस्तै विलियम्सनले डेरिल र ग्लेन फिलिप्ससँग उत्कृष्ट साझेदारी गर्दै शतक बनाए । ग्लेन फिलिप्सले ६२ बलमा ४२ रन मात्र बनाउन सके । त्यस्तै डेरिल ४१ रनमा आउट भए ।
बंगलादेशको बलिङ गजबको रह्यो । बलिङतर्फ बंगलादेशका स्पिनर ताइजुल इस्लामले ४ विकेट लिए । उनले टम लाथम, डेरिल मिचेल, केन विलियम्सन र इश सोधीलाई आउट गरे । त्यसबाहेक शरिफुल इस्लाम, मेहदी हसन, नईम हसन र मोमिनुल हकले १–१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्