केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशको सान्त्वना जित
काठमाडौँ । पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ ।
पोखरा रङ्गशालामा बुधबार भएको खेलमा कोशीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी (निलो)लाई नौ विकेटले हरायो । लिगको अन्तिम खेलमा जित निकाले पनि कोशी प्रतियोगिताबाट बाहिरिएको छ ।
जितका लागि एमेडेमी निलोले दिएको ६८ रनको लक्ष्य कोशीले ७.४ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । कोशीका लागि ओपनर सोनु अन्सारीले ३५ रन बनाए । मिनाश थापाले १८ र ओपनर अङ्कित सुवेदीले १४ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयोजक निलोले १७.५ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन बनाएको थियो । आयोजक एकेडेमी निलोका लागि अर्जुन रायमाझीले २४ रन बनाए । मेहुल श्रेष्ठ र अभय यादवले १०/१० रन बनाए ।
बलिङमा कोशीका श्रवण यादवले तीन विकेट लिए । कमल खत्री र फिर्दोश अन्सारीले दुई दुई विकेट झारे । प्रतियोगिता अन्तर्गत बिहीबार पहिलो सेमिफाइनलमा नेपाल आर्मी र बागमती प्रदेश तथा दोस्रो सेमिफाइनलमा एपिएफ क्लब र मधेश प्रदेशकाबीच प्रतिस्पर्धा हुनेछ ।

टिप्पणी लेख्नुहोस्