भारतविरुद्धको टेष्ट सिरिजमा २० वर्षीय शोएबले पाए मौका
काठमाडौंँ । इंग्ल्याण्डले भारतविरुद्ध हुने पाँच खेलको टेष्ट सिरिजका लागि टोली घोषणा गरेको छ । जसमा २० वर्षीय शोएब बसिरलाई पहिलो पटक इङ्ल्यान्डको टेष्ट टोलीमा बोलाइएको छ । शोएबले समरसेट टोलीबाट प्रथम श्रेणी खेल खेलेका छन् र ६ खेलमा १० विकेट लिएका छन् । शोएब बाहेक लेग स्पिनर टम हार्टले र फास्ट बलर गस एट्किन्सनलाई पनि पहिलो पटक टेष्ट टोलीमा समावेश गरिएको छ । गत महिना बायाँ घुँडाको शल्यक्रिया गरेका इंग्ल्याण्डका कप्तान बेन स्टोक्सलाई अपेक्षाअनुरुप टोलीमा समावेश गरिएको छ । तर, उनी बलिङका लागि फिट हुनेछन् कि छैनन्, त्यो भने हेर्न बाँकी छ ।
बेन फक्स पनि १६ सदस्यीय टोलीमा परेका छन् । उनी एसेज सिरिजपछि टेष्ट टोलीबाट बाहिरिएका थिए । ज्याक लिच र ओली पोप पनि काँधको चोटबाट निको भएर टोलीमा फर्किएका छन् ।
इङ्ल्यान्डले चार विशेषज्ञ स्पिनरलाई आफ्नो टोलीमा समावेश गरेको छ । शोएब, लीच र हार्टलेका अलावा गत वर्ष पाकिस्तानमा डेब्यु खेलमै सात विकेट लिने रेहान अहमदलाई पनि टोलीमा समावेश गरिएको छ। घोषणा गरिएको टोलीमा जेम्स एन्डरसन, ओली रोबिन्सन, एट्किन्सन र मार्क वुड सहित चार फास्ट बलर समावेश भएका छन् ।
इंग्ल्याण्डको टोली सिरिज तयारीका लागि जनवरीको मध्यमा संयुक्त अरब इमिरेट्स जानेछ र जनवरी २५ मा हैदरावादमा हुने पहिलो टेस्टको केही समयअघि भारत आइपुग्नेछ।
इंग्ल्याण्डको टेस्ट टोलीः रेहान अहमद, जेम्स एन्डरसन, गुस एट्किन्सन, जोनी बेयरस्टो, शोएब बशीर, ह्यारी ब्रुक, ज्याक क्राउली, बेन डकेट, बेन फोक्स, टम हार्टले, ज्याक लीच, ओली पोप, ओली रोबिन्सन, जो रुट, बेन स्टोक्स (कप्तान) र मार्क वुड ।

टिप्पणी लेख्नुहोस्