यू–१९ विश्वकपका लागि भारतीय टोली घोषणा
काठमाडौंँ । यू–१९ विश्वकप क्रिकेटका लागि भारतीय क्रिकेट टोली घोषणा भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले मंगलबार १५ खेलाडीको टोली सार्वजनिक गरेको हो । यू–१९ विश्वकपका लागि जुनियर छनोट समितिले उदय सहारनलाई कप्तानमा चयन गरेको छ । जनवरी १९ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकाका पाँच स्थानमा आयोजना हुने प्रतियोगितामा कुल ४१ खेल हुनेछन् ।
भारतीय टोलीमा छानिएका १५ खेलाडीबाहेक ३ जना स्ट्यान्डबाई खेलाडी पनि समावेश गरिएको छ । यति मात्र होइन, ४ जना अतिरिक्त रिजर्भ खेलाडी पनि छन् । रिजर्भ खेलाडीले टोलीसँग दक्षिण अफ्रिका को यात्रा गर्ने छैनन्।
पञ्जाबका उदय सहारनलाई टोलीको कप्तानी दिइएको छ । यस्तै टिमको उपकप्तानमा मध्यप्रदेशका सौम्या पाण्डे रहेका छन् । छनोट समितिले देशभरका प्रतिभा छनोट गरेको हो । जसमा महाराष्ट्रका दुई र हैदरावादका दुई खेलाडी छन् । अन्य राज्यका एक खेलाडी रहेका छन्।
डिसेम्बर ८ देखि युएईमा जारी यू–१९ एसिया कपमा पनि सहारनले भारतको कप्तानी गरिरहेका छन् ।
यो वर्ष यू–१९ विश्वकप नयाँ ढाँचामा आयोजना हुँदैछ । प्रतियोगितामा ४ समूहमा १६ टिमको सहभागिता रहनेछ । समूहको शीर्ष तीन टोली सुपर–६ मा प्रवेश गर्नेछन् । सुपर सिक्समा ६र६ टिमको दुई समूह बन्नेछ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल र जित्ने दुई देशले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
यू–१९ विश्वकपका लागि भारतीय टोलीः अर्शिन कुलकर्णी, आदर्श सिंह, रुद्र मयूर पटेल, सचिन दास, प्रियांशु मोलिया, मुशीर खान, उदय सहारन (कप्तान), अर्वेली अवनीश राव, सौम्य कुमार पांडे (उपकप्तान), मुरुगन अभिषेक, इनेश महाजन (विकेट किपर), धनुष गौड़ा, आराध्या शुक्ला, राज लिंबिनी र नमन तिवारी ।
रिजर्भ खेलाडीः प्रेम देवकर, अंश गोसाईं र मो. अमन ।

टिप्पणी लेख्नुहोस्