लेख विवरण

रसेलको अलराउन्ड प्रदर्शनमा वेस्ट इन्डिजले इंग्ल्याण्डलाई ४ विकेटले हरायो

रसेलको अलराउन्ड प्रदर्शनमा वेस्ट इन्डिजले इंग्ल्याण्डलाई ४ विकेटले हरायो

काठमाडौंँ । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको टी–२० सिरिजमा जित निकालेको छ । ब्रिजटाउनमा जारी तीन खेलको टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको हो । जितसँगै क्यारेबियन टोलीले सिरिजमा १–० को अग्रता लिएको छ । टोलीका लागि आन्द्रे रसेलले १४ बलमा अविजित २९ रन बनाउनुका साथै ३ विकेट लिदै दुई वर्षभन्दा बढी समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरे । उनी प्लेयर अफ दि म्याच घोषित भए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले सबै विकेट गुमाएर १७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको वेष्ट इन्डिजले ११ बल बाँकी छँदै ६ विकेट को क्षतिमा लक्ष्य भेट्टायो । वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अल्जारी जोसेफले समान ३–३ विकेट लिए ।

इंग्ल्यान्डका लागि ओपनर फिल साल्ट र कप्तान जोस बटलरले राम्रो सुरुआत गरेका थिए । यी दुईबीच पहिलो विकेटका लागि ७७ रनको साझेदारी भएको थियो । साल्टले २० बलमा ४० रन बनाए भने बटलरले ३९ रन बनाए । यी दुईबाहेक लियाम लिभिङस्टनले १९ बलमा २७ रन बनाए ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अल्जारी जोसेफले समान ३–३ विकेट लिए । आन्द्रे रसेलले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए भने जोसेफले ३.३ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । यी दुई बाहेक रोमारियो शेफर्डले २ विकेट लिए । अकेल हुसेन र जेसन होल्डरले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङको पावर प्लेमा वेस्ट इन्डिजले १ विकेट गुमाएर ५९ रन बनाएको थियो । वेस्ट इन्डिजलाई पहिलो झट्का ३२ रनमा लागेको थियो । ओपनर ब्रेन्डन किङ १२ बलमा २२ रन बनाएर आउट भएका थिए । उनी आउट भएपछि काइल मायर्स र साइ होपले वेस्ट इन्डिजको इनिङ सम्हालेका थिए । मायर्सले २१ बलमा ३५ रन बनाए भने होपले ३० बलमा ३६ रन बनाए । यी दुईबाहेक रोभम्यान पावेलले १५ बलमा अविजित ३१ रन बनाए । इंग्ल्यान्डका लागि रेहान अहमदले ३ विकेट लिए ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.