खेलकुद पर्यटनको शुरुआत गर्दै चौबिसे
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले खेलकुद र कृषिलाई समेटेर ‘खेलकुद पर्यटन’को शुरुआत गर्ने भएको छ । आठ वडा रहेको यस गाउँपालिकामा प्रत्येक वडामा सात÷एघार क्षेत्रफलका एकदेखि तीनवटासम्म फुटबल मैदान छन् । खेल क्षेत्र र कृषिका माध्यमबाट पालिकाको प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय रारा फुटबल क्लबसँगको समन्वयमा खेलकुद पर्यटनको विकास थालिएको पालिकाले जनाएको छ ।
पालिकामा रहेका एक दर्जनभन्दा बढी खेलमैदान निर्माणका लागि रु १० लाखदेखि रु २५ लाखसम्म खर्च गरिएको पालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए । उनका अनुसार जिल्लाकै धेरै फुटबल खेलाडी भएको पालिका चौबिसे हो । यस क्षेत्रमा राष्ट्रियस्तरको रारा गोल्डकपसहित वर्षमा ५० देखि ६० फुटबल सञ्चालन हुँदै आएको राजारानी (रारा) फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिए । उनका अनुसार यहाँ भलिबल, ब्याटमिन्टन तथा पुरानो पारम्परिक ढुङ्गाको छेलो हान्ने (सटपुट) लगायत खेलहरु हुने गरेका छन् । स्थानीय चाडपर्व, विभिन्न मेला तथा महोत्सवका साथै राष्ट्रिय चाडपर्वका अवसरमा खेल सञ्चालन हुने गरेको उनले जानकारी दिए ।
खेलप्रतिको आकर्षणकै कारण हाल धनकुटाबाट नेपालको ‘एकेडेमी’, ‘ए डिभिजन’ र अन्तरराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने आठजना खेलाडी चौबिसेबाट रहेका धनकुटा फुटबल सङ्घले जनाएको छ । धनकुटा फुटबल सङ्घका अध्यक्षसमेत रहेका रारा क्लबका अध्यक्ष चेम्जोङले जिल्लाबाट गोलरक्षक किरण चेम्जोङ, खेलाडीहरु बुद्ध चेम्जोङ, सुजल श्रेष्ठ, अनुप सुब्बा, पदम भट्टराई, सिर्जना चेम्जोङ र राजु योगी नेपालका ‘ए’ डिभिजन क्लबबाट खेल्ने खेलाडी रहेका जानकारी दिए । “गोलरक्षक चेम्जोङले नेपालका सबै ‘ए’ डिभिजन खेलिसकेर हाल भारतको इन्डियन सुपर लिगमा खेलिरहेका छन् । बुद्ध चेम्जोङ मच्छिन्द्र क्लबको प्रतिनिधित्व गर्दै हाल फ्रेन्च क्लबमा खेलिरहेका छन भने सिर्जना चेम्जोङ एपिएफबाट खेल्दै हाल अस्टे«लियाको एक फुटबल क्लबबाट खेलिरहेका छन्”, उनले भने ।
सुजल श्रेष्ठले अष्टे«लियाको एक फुटबल क्लबबाट, अनुप सुब्बा पुलिस क्लब, पदम भट्टराई खुमलटार फुटबल क्लब र राजु योगी एपिएफबाट खेलिरहेका अध्यक्ष चेम्जोङले बताए । उनका अनुसार एन्फा रेफ्रीका रुपमा कार्यरत मिलन लिम्बू, तुफान चेम्जोङ, रुसी चेम्जोङ र मयस मल्लिकले धनकुटाबाट राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गरिरहेका छन् ।
“१६ वर्ष उमेर समूहबाट दिलेन लिम्बू सङ्कटा क्लबको एकेडेमिमा र धिरज बिक १७ वर्ष उमेर समूहबाट फुटबल खेलिसकेका खेलाडी हुन्”, अध्यक्ष चेम्जोङले भने । उनका अनुसार जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडीमध्ये श्रेष्ठ, भट्टराई, लिम्बू, योगी र मल्लिकबाहेक अन्य सबै चौबिसे गाउँपालिकाबाट प्रतिनिधित्व गर्दछन् । फुटबलबाट राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने खेलाडीका कारण यस क्षेत्रको खेलकुद पूर्वाधार निर्माण तथा खेलप्रति आकर्षण बढेको उनको भनाइ छ ।
विसं २०५१ देखि गाउँपालिकामा जिल्लाकै ठूलो क्लबका रुपमा स्थापना भई रारा फुटबल क्लबले प्रतियोगिता गर्दै आएको छ । यस पटक पालिकासँग समन्वय गरी खेलकुदसँगै पर्यटन क्षेत्रको पनि प्रवर्द्धन गर्ने उद्देश्यले खेलकुद पर्यटनको शुरुआत गरिएको बताइएको छ ।
पालिकाको सहयोगमा यस वर्षदेखि खेल पर्यटनका गतिविधि गर्न थालिएको जनाउँदै अध्यक्ष चेम्जोङले मङ्सिरमा तीनदिने खाना महोत्सवसहित प्रथम चौबिसे अन्तरराष्ट्रिय आमन्त्रण रारा भेट्रान फुटबल कप सम्पन्न गरिसकिएको जानकारी दिए । खेलकुद पर्यटनको विकासका लागि पालिका क्षेत्रमा खेल भएको समयमा क्लबले देशभरिका विभिन्न संस्थालाई आमन्त्रण गर्ने गरेको उनले बताए ।
चेम्जोङका अनुसार यहाँ विभिन्न पर्व र मेलाहरुमा हुने फुटबल खेलमा कृषि मेला तथा महोत्सवको आयोजन गर्ने गरिएको छ । आगन्तुक खेलाडी तथा खेलप्रेमी पाहुनालाई स्थानीय कृषि उत्पादनबाट बनेका खाने परिकारहरु खुवाउने गरिएको उनको भनाइ छ ।
आगामी दिनमा पर्यटन प्रवर्द्धनका लागि थप योजनाहरु ल्याइने भन्दै चेम्जोङले भने, “हामी जति सक्छौँ आगन्तुक पाहुनाहरुलाई स–शुल्क वा निःशुल्क बसोबास तथा खानपानमा सहयोग गर्नेछौँ ।” यहाँको खेल क्षेत्रको विकासका लागि सबै स्थानीय तहले सहयोग गरिरहेका जनाउँदै नौबिसेले सबैभन्दा बढी आर्थिक सहयोग गरेको बताए ।
“यहाँ हुने अधिकांश खेलमा आधाभन्दा बढी रकम गाउँपालिकाले दिँदै आएको छ । जिल्ला र पालिकास्तरीय खेललाई निरन्तरता दिँदै क्लबले खेल तालिकाअनुसार सबै उमेर समूहको फुटबल, ब्याटमिन्टन, भलिबललगायत प्रतियोगितालाई निरन्तरता दिनेछ”, चेम्जोङले भने । पालिकाले यस वर्ष क्लबका लागि रु २५ लाख बराबरको अक्षयकोष निर्माणका लागि अनुदान दिएको उनले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८०÷८१ मा रु ५३ करोड ९० लाख ५७ हजार कूल बजेट रहेकामा रु १६ करोड ३२ लाख ३६ हजार पुँजीगत बजेटबाट खेलकुद क्षेत्रका लागि रु ५७ लाख २० हजार विनियोजन गरेको पालिकाका अध्यक्ष लिम्बूले जानकारी दिए । उनका अनुसार यो रकम जिल्लाका अन्य सात स्थानीय तहले खेल क्षेत्रका लागि छुट्याएको रकममध्ये सबैभन्दा धेरै हो ।
खेल पर्यटन विकासका लागि यहाँ खेलाइने खेललाई प्रत्येक वडामा पालैपालो सञ्चालन गरेर स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुका साथै स्थानीय खानाको प्रवद्र्धन गरिने अध्यक्ष लिम्बूले जानकारी दिए । “खेलकुद र खानालाई जोडेर खेलकुद पर्यटनको विकास गर्ने हाम्रो मुख्य उद्देश्य हो”, उनले भने ।
हाल अनौपचारिक रुपमा खेल पर्यटनको कार्यक्रम शुरु भए पनि आगामी वर्षदेखि गाउँपालिकाको आफ्नो नीति तथा कार्यक्रममा नै समावेश गरेर अघि बढ्ने अध्यक्ष लिम्बूको भनाइ थियो । उनले राष्ट्रिपति कप, अध्यक्ष कप तथा यस क्षेत्रका विभिन्न पर्व र अवसरमा आयोजना हुने खेलकुद कार्यक्रमलाई क्रमशः फरक पालिकामा सञ्चालन गरिने बताए ।
फुटबल तथा अन्य खेलका अवसरमा यहाँ आउने पाहुनालाई स्थानीयस्तरमा उत्पादित फलफुल, तरकारी, खानका परिकार खुवाउनुका साथै स्थानीय कला संस्कृतिका बारेमा जानकारी दिइने गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए । यसले चौबिसे क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नाका साथै खेल क्षेत्रको विकासमा राज्यलाई सहयोगसमेत पुग्ने उनको भनाइ थियो ।
खेल पर्यटनमा जोडिएर यहाँ आउने पर्यटकले सेनकालीन शासन कालका विभिन्न राजा–रजौटा र लिम्बू जातिका ऐतिहासिक स्थलको अवलोकन गर्नुका साथै सदाबहार हरियाली वातावरणको आनन्द लिन पाउनेछन् । तालैतालको आधारशिला रहेको यस पालिकामा ताल, झरना, नदी र यहाँको चुरे पहाडबाट हिमाल, पहाड र तराईका दृश्यावलोकन गर्न पाउने अध्यक्ष लिम्बूले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्