लेख विवरण

श्रीलङ्कामा नेपाली तेक्वान्दो खेलाडी जिते पाँच स्वर्ण, एक रजत र दुई कांस्य

श्रीलङ्कामा नेपाली तेक्वान्दो खेलाडी जिते पाँच स्वर्ण, एक रजत र दुई कांस्य

काठमाडौँ । प्रथम दक्षिण एसियाली तेक्वान्दो च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण, एक रजत र दुई कांस्य पदक जितेको छ । श्रीलङ्काको कोलम्बोस्थित सुकुतादास इन्डोर स्टेडियममा भएको च्याम्पियनसिपअन्तर्गत महिला ६७ केजी तौल समूहमा इन्दिरा बस्नेतले र जुनियर महिला ५७ केजीमा सुभाङगी श्रेष्ठले स्वर्ण पदक जिते ।

इन्दिराले गत सेप्टेम्बरमा चीनको हाङझावमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेकी थिइन् । यसैगरी पुम्सेको पुरुष ३० वर्षमुनिको स्पर्धामा उज्ज्वल श्रेष्ठ, महिला ३० वर्षमुनि सुशीला राई र महिला १७ वर्षमुनिको स्पर्धामा रोशनी सिलवालले स्वर्ण पदक हासिल गरे ।

पुरुष १७ वर्षमुनि श्रीजल श्रेष्ठले रजत र पुम्सेकै १० वर्षमुनिको जुनियरमा वीरेन्द्र हुमागाईँ र १२ वर्षमुनि विवेक तामाङले कांस्य पदक जिते । च्याम्पियनसिपमा नेपालबाट दस खेलाडी सहभागी भएका थिए । नेपाली टोलीको प्रशिक्षकको भूमिकामा केशव थापा थिए ।

यस्तै च्याम्पियनसिपमा नेपालका बब्लु सिवाकोटी उत्कृष्ट निर्णायक घोषित भएका छन् । मोरक्को, दक्षिण कोरिया, श्रीलङ्का, भारत, पाकिस्तान, मलेसिया र इरानका निर्णायक सहभागी च्याम्पियनसिपमा सिवाकोटी उत्कृष्ट चुनिएका हुन् । सा च्याम्पियनसिपमा नेपालका रवीन्द्र मल्लले पनि रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.