लेख विवरण

बेनीमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

बेनीमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

बेनी । म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागिता जनाएका छन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विधाका विभिन्न तीन सय ७८ इभेन्टमा विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजेतालाई नगद रु ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं प्रतियोगिताका संयोजक चक्र केसीले जानकारी दिए ।

प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफी, पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । प्रतियोगितामा समावेश छात्र भबिलल खेलमा १० र छात्रा भलिबल खेलमा चार विद्यालयले सहभागिता जनाएका छन् । कबड्डी खेलमा छात्र र छात्रातर्फ छ÷छ विद्यालय सहभागी रहेको नगरपालिकाले जनाएको छ ।

एथलेटिक्सतर्फ २५ र करातेमा चार विद्यालयले सहभागिता जनाएका छन् । तेक्वान्दो खेलमा छात्रतर्फ १० र छात्रा चार विद्यालय, उस्सु खेलमा छात्रातर्फ पाँच र छात्रतर्फ चार विद्यालयले सहभागिता जनाएका छन् । यस वर्ष नगरपालिकाले प्रतियोगिता सञ्चालनअघि नै प्रधानाध्यापकको बैठकमार्फत न्यूनतम पाँच विद्यालय सहभागिता नरहेको खेल उपाधिको अङ्क तालिकामा गणना नगर्ने निर्णय गरे बमोजिम प्रतियोगिता सञ्चालन गराउन सुरु गरिएको प्रतियोगिताका संयोजक केसीले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले खेलकुदले विद्यार्थीमा प्रतिस्पर्धी क्षमताको विकास गराउनुको साथै लुकेर रहेको खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बेनीको खुला मञ्चलाई स्तरीय रङ्गशालाको रुपमा विकास गर्न तीन तहकै सरकारबीचमा सहकार्य गरी प्राथमिकतामा राख्न आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

संविधासभा सदस्य नवराज शर्मा र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले हरेक वर्ष आयोजना हुने विद्यालयस्तरका प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान गरी क्षेत्रीय र राष्ट्रियस्तरमा पु¥याउन सहयोगी भूमिका खेल्ने गरेकामा जोड दिए ।

नगरप्रमुख सुरत केसीले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित बनाउन आवश्यक तयारीका साथ खेलकुद प्रतियोगिता सञ्चालन हुने जानकारी दिए । उनले प्रतियोगितामा धेरैभन्दा धेरै विद्यालयलाई सहभागी गराउने गरी नगरपालिकाले प्रतियोगिता सञ्चालन गराउने प्रयास गरेको बताए । नगरउपप्रमुख ज्योति लामिछानेले खेलकुद गतिविधिमा भलिबलतर्फ छात्रको तुलनामा छात्रामा न्यून विद्यालयले सहभागिता जनाएको बताउँदै विद्यालयले छात्र र छात्राहरुलाई समान अवसर दिनुपर्नेमा जोड दिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.