धोनीको ७ नम्बर जर्सी रिटायर, अब कुनै पनि भारतीय क्रिकेटरले लगाउन नपाउने
काठमाडौंँ । दुई पटकको विश्वकप विजेता भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीको ७ नम्बर जर्सी अब कुनै पनि भारतीय क्रिकेटरले लगाउन नपाउने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले यसलाई सन्यास दिने निर्णय गरेको छ ।
धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको करिब ३ वर्षपछि बोर्डले यो निर्णय गरेको हो । इन्डियन एक्सप्रेसका अनुसार बीसीसीआईले धोनीले आफ्नो करियरमा लगाएको नम्बर टी–शर्टबाट सन्यास लिने निर्णय गरेको जनाएको छ ।
धोनीभन्दा पहिले सचिन तेन्दुलकरको १० नम्बरको जर्सीले पनि यो सम्मान पाएको थियो । सन् २०१७ मा १० नम्बरको जर्सीले पनि स्थायी रुपमा सन्यास लिएको थियो ।
धोनीले सन् २०२० अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनले सन् २०१४ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का एक अधिकारीका अनुसार भारतीय टिमका खेलाडी, विशेषगरी डेब्यु गर्ने खेलाडीले तेन्दुलकर र धोनीसँग सम्बन्धित नम्बर छनोट गर्न नसकिने बताइएको छ ।
धोनीको जन्म झारखण्डको राँचीमा भएको थियो । उनको कप्तानीमा भारतले सन् २००७ मा टी–२०, सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो । सन् २०१४ को डिसेम्बरमा उनले टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।
धोनीले ९० टेस्ट, ३५० एकदिवसीय र ९८ टी–२० खेलेका छन् । जसमा उनले ४ हजार ८ सय ७६, १० हजार ७ सय ७३ र १ हजार ६ सय १७ रन बनाएका छन् । धोनीले आइपिएलमा हालसम्म १९० खेलमा ४ हजार ४ सय ३२ रन बनाएका छन् । उनको कप्तानीमा सीएसकेले लगातार पाँच पटक आइपिएलको उपाधि जितेको छ ।
चर्चित खेलाडीको जर्सी नम्बरले सन्यास लिने पुरानो परम्परा रहिआएको छ । इटालियन फुटबल लिग सिरी ए क्लब नापोलीमा कुनै पनि खेलाडीले १० नम्बरको जर्सी लगाउँदैनन्, किनभने यो नम्बर डिएगो म्याराडोनाले लगाएका थिए । म्याराडोना एक्लैले सन् १९८७ र १९९० मा लिग को उपाधि जिताएका थिए ।

टिप्पणी लेख्नुहोस्