पर्थ टेस्ट : अष्ट्रेलिया ४८७ रनमा अलआउट
काठमाडौंँ । पाकिस्तान र अस्ट्रेलियाबीच जारी पर्थ टेस्टको दोस्रो दिनको खेल शुक्रबार सकिएको छ । दोस्रो दिनको सुरुवात ३४६(५ बाट गरेको अष्ट्रेलियाली टोली ४८७ रन बनाएर अल आउट भयो। उसका लागि मिचेल मार्शले सर्वाधिक ९० रन बनाए । पाकिस्तानका लागि बलिङमा डेब्यु खेलाडी आमिर जमालले ६ विकेट लिए ।
दोस्रो दिन पाकिस्तानले पनि आफ्नो इनिङको सुरुवात गरेको थियो । दिनको खेल सकिँदासम्म टोलीले २ विकेटको क्षतिमा १३२ रन बनाएको छ । टोलीका इमाम उल हक र खुर्रम शहजाद नटआउट रहे, यी दुवैले तेस्रो दिनको खेलमा पाकिस्तानको इनिङलाई अगाडि बढाउनेछन् ।
अस्ट्रेलियाका लागि पहिलो दिन विकेटकिपर एलेक्स क्यारी र मिचेल मार्श नटआउट रहे । दोस्रो दिन दुवैले ९० रनको साझेदारी गरे । केरी ३४ रनमा आउट भएपछि दुईबीचको साझेदारी टुट्यो ।
केरीपछि मिचेल स्टार्क १२, कप्तान प्याट कमिन्स ९, नाथन लियोन ५ र जोश हेजलवुड ४ रन मात्र बनाउन सके । मार्स ९० रनको इनिङ्स खेल्दै खुर्रम शहजादको शिकार बने ।
बलिङतर्फ पाकिस्तानका आमिर जमालले १ सय ११ रन खर्चेर ६ विकेट लिए । उनीसँगै डेब्यु गरेका खुर्रम शहजादले २ विकेट लिए । शाहीन शाह अफ्रिदी र फहीम अशरफले समान १–१ विकेट लिए ।
दोस्रो दिन पाकिस्तानको पहिलो इनिङको सुरुवात गरेका ओपनर अब्दुल्लाह शफिक र इमाम उल हकले ७४ रनको साझेदारी गरे । शफिक ४२ रनमा आउट भएपछि दुईबीचको साझेदारी टुटेको थियो । तेस्रो नम्बरमा आएका कप्तान शान मसूदले इमामसँग ४९ रनको साझेदारी गरे । मसूद ३० रनमा आउट भएपछि दुईबीचको साझेदारी टुट्यो ।
दिनको खेल सकिँदासम्म इमाम ३८ र खुर्रम शहजादले अविजित ७ रन बनाए । तेस्रो दिन दुवैले पाकिस्तानको पहिलो इनिङ्सको नेतृत्व गर्नेछन् । खेल नेपाली समयअनुसार शनिबार बिहान ८ः०५ बजे सुरु हुनेछ । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र नाथन लियोनले समान १–१ विकेट लिए ।
अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदासम्म ५ विकेटको क्षतिमा ३सय ४६ रन बनाएको थियो । उसका लागि ओपनर डेभिड वार्नरले शतकीय पारी खेल्दै १ सय ६४ रन बनाएका थिए । मिचेल मार्श र एलेक्स केरी नटआउट रहे । पाकिस्तानका आमिर जमालले २ विकेट लिएका थिए ।

टिप्पणी लेख्नुहोस्