कप्तान बन्ने सर्तमा मुम्बई इन्डियन्स फर्किएका थिए पाण्ड्या
काठमाडौंँ । आईपीएल २०२४ अघि मुम्बई इन्डियन्सको टोलीले ठूलो परिवर्तन गर्दै हार्दिक पाण्ड्यालाई कप्तान बनाएको छ । खेल प्रेमीहरुको नजरमा यो निर्णय रातारात भएको हुन सक्छ तर यसको भित्री रहस्य अर्कै छ । हार्दिकलाई कप्तान बनाउने योजना पुरानो थियो । एक रिपोर्टमा हार्दिक पाण्ड्या कप्तान बन्ने शर्तमा मात्रै मुम्बई इन्डियन्समा फर्किएको खुलासा भएको छ । मुम्बई फर्कनुअघि हार्दिक गुजरात टाइटन्सका कप्तान थिए।
इन्डियन एक्सप्रेसका अनुसार हार्दिक पाण्ड्या मुम्बई इन्डियन्स फर्किने क्रममा टोलीको कमाण्ड पाएपछि मात्रै आउने शर्त राखेका थिए ।
कुरा योजना अनुसारनै अगाडी बढ्यो। पहिला हार्दिकले मुम्बई इन्डियन्समा पुनरागमन गरे र त्यसपछि गत शुक्रबार उनलाई आधिकारिक रूपमा रोहित शर्माको स्थानमा मुम्बई इन्डियन्सको कप्तान घोषणा गरियो तर यो निर्णय तुरुन्तै लिएको खेल प्रेमीहरुलाई देखाइयो।
हार्दिक पाण्ड्याले सन् २०१५ मा मुम्बई इन्डियन्सबाट आईपीएलमा डेब्यु गरेका थिए । उनी सन् २०२१ सम्म मुम्बईको सदस्य रहे। तर सन् २०२२ को मेगा लिलामीमा उनलाई गुजरात टाइटन्सले किनेर कप्तान बनाएको थियो । उनको कप्तानीमा, हार्दिकले पहिलो सिजनमा गुजरातलाई च्याम्पियन बनाए र त्यसपछि दोस्रो सिजनमा, हार्दिकको कप्तानीमा गुजरात टाइटन्स उपविजेता भयो।
हार्दिकले आफ्नो करियरमा अहिलेसम्म १२३ आईपीएल खेल खेलेका छन् । यी खेलका ११५ इनिङ्समा ब्याटिङ गर्दै उनले ३०.३८ को औसत र १४५.८६ को स्ट्राइक रेटमा २ हजार ३ सय ९ रन बनाएका छन् । यस अवधिमा उनले १० अर्धशतक प्रहार गरेका छन् । यसबाहेक उनले ८१ इनिङ्समा बलिङ गर्दै ३३.२६ को औसतमा ५३ विकेट लिएका छन् ।

टिप्पणी लेख्नुहोस्