लेख विवरण

पहिलो टेस्टमा अष्ट्रेलियाले पाकिस्तानलाई ३६० रनले हरायो

पहिलो टेस्टमा अष्ट्रेलियाले पाकिस्तानलाई ३६० रनले हरायो

काठमाडौंँ । पर्थमा सम्पन्न पहिलो टेस्टमा अष्ट्रेलियाले पाकिस्तानलाई ३६० रनले पराजित गरेको छ । योसँगै अष्ट्रेलियाले तीन टेष्टको श्रंखलामा १–० को अग्रता बनाएको छ । चौथो दिन ८४/२ को अवस्थामा खेलको सुरुवात गरेको अष्ट्रेलियाले २३३/५ रनमा दोस्रो इनिङ्स घोषणा गरेको थियो । ४४९ रनको लक्ष्य पाएको पाकिस्तानी टोलीले ८९ रन मात्र बनाउन सफल भयो ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र जोस हेजलवुडले समान ३–३ विकेट लिए । नाथन लियोनले २ विकेट लिएर टेस्ट क्रिकेटमा ५०० विकेट पूरा गरे । त्यस्तै कप्तान प्याट कमिन्सले पनि एक विकेट लिए । पहिलो इनिङ्समा अस्ट्रेलियाले ४ सय ८७ र पाकिस्तानले २ सय ७१ रन बनाएको थियो ।

तेस्रो दिनको खेल सकिँदासम्म दोस्रो इनिङमा २ विकेट गुमाएर ८४ रन बनाएको अस्ट्रेलियाले तेस्रो दिन ३ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । अस्ट्रेलियाको चौथो विकेट १०७ रनमा झरेको थियो । त्यसपछि उस्मान ख्वाजा र मिचेल मार्शले पाँचौं विकेटका लागि १ सय २९ बलमा १ सय २६ रनको साझेदारी गरे ।

दोस्रो इनिङ्समा अस्ट्रेलियाका दुई ब्याट्सम्यानले अर्धशतक बनाउन सफल भए । उस्मान ख्वाजाले १९० बलमा ९० रन बनाए भने मिचेल मार्शले ६८ बलमा अविजित ६३ रन बनाए । यसबाहेक स्टिभ स्मिथले ८७ बलमा ४५ रन बनाए । बलिङतर्फ पाकिस्तानका शाहीन शाह अफ्रिदीले ३ विकेट लिए ।

४४९ रनको लक्ष्य पछ्याएको दोस्रो इनिङ्समा पाकिस्तानका कुनै पनि ब्याट्सम्यान २४ रनभन्दा माथि जान सकेनन् । टोलीका लागि साउद शकीलले ५१ बलमा २४ रन बनाए । बाबर आजमले ३७ बलमा १४ रन बनाए । यी दुई बाहेक इमाम उल हकले २० बलमा १० रन बनाए ।

पाकिस्तानको पहिलो विकेट २ रनमा खसेको थियो । ओपनर अब्दुल्लाह शफिक मिचेल स्टार्कको बलमा क्याच आउट भए । पाकिस्तानलाई दोस्रो झटका जोस हेजलउडले कप्तान शान मसुदलाई एलेक्स क्यारीबाट क्याच आउट गराएर दिए। पाकिस्तानी ब्याट्सम्यानहरु अस्ट्रेलियन बलर मिचेल स्टार्क र जोस हेजलउडको चपेटामा परे । स्टार्क र हेजलउड दुवैले ३–३ विकेट लिए ।

दोस्रो इनिङ्समा नाथन लियोनले २ विकेट लिए । पहिलो विकेट लिएर उनले टेष्ट क्रिकेटमा आफ्नो ५०० विकेट पूरा गरे। लायनले फहिम अशरफलाई आफ्नो ५०० औं शिकार बनाए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.