मिचेल स्टार्क बने आईपीएलको सबैभन्दा महँगो खेलाडी, केकेआरले २४ करोड ७५ लाखमा किन्यो
काठमाडौंँ । अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । कोलकाता नाइट राइडर्सको टोलीले उनलाई २४ करोड ७५ लाख भारु दिएर आफ्नो टोलीमा समावेश गरेको छ । कोलकाता बाहेक गुजरात टाइटन्सले पनि यी खेलाडीका लागि २४.५० करोड भारु बोली लगाएको थियो । आज भएको लिलामीमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सलाई सनराइजर्स हैदरावादले २०.५० करोडमा किनेको थियो तर स्टार्कले कमिन्सको कीर्तिमान केही समयमै तोडेका थिए ।
मिचेल स्टार्कले विगत ८ वर्षदेखि आईपीएल खेलेका थिएनन् । यस पटक उनले आईपीएलमा २ करोडको आधार मूल्यमा नाम दर्ता गराएका थिए । जब आईपीएल २०२४ लिलामीमा उनको नाम आयो, दिल्ली क्यापिटल्सले पहिलो पटक उनको नाममा बोली लगाउन थाल्यो। दिल्लीसँगै मुम्बई इन्डियन्सले पनि स्टार्कका लागि बोली लगायो । त्यसपछि स्टार्कका लागि कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सबीच बिडीङ युद्ध सुरु भयो । कोलकाता र गुजरात दुवै टोलीसँग ३१ करोड रुपैयाँभन्दा बढी थियो, त्यसैले दुवैले २० करोडभन्दा माथिसम्म ननस्टप बोली लगाए।
प्याट कमिन्सको २०.७५ करोड भारुको कीर्तिमान तोड्दै मिचेल स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोड भारु तिरेर अन्तिममा आफ्नो टिममा सामेल गर्यो । स्टार्कले आफ्नो अन्तिम आईपीएल सन् २०१५ मा खेलेका थिए । अष्ट्रेलियाका बायाँ हाते फास्ट स्विङ यी बलरले आईपीएलमा अहिलेसम्म कुल २७ खेल खेलिसकेका छन् । यी खेलहरूमा उनले २०.३८ को औसत र ७.१७ को इकोनोमी रेटमा कुल ३४ विकेट लिएका छन् । यस अवधिमा उनको उत्कृष्ट प्रदर्शन १५ रनमा ४ विकेट रहेको छ । अब मिचेल स्टार्कले आईपीएल २०२४ मा कोलकाता नाइट राइडर्सका लागि कस्तो प्रदर्शन गर्छन त्यो हेर्न बाँकी छ ।

टिप्पणी लेख्नुहोस्