लेख विवरण

राष्ट्रिय मिक्स रिले दौड प्रतियोगिता अर्को साता

राष्ट्रिय मिक्स रिले दौड प्रतियोगिता अर्को साता

काठमाडौंँ । एथलेटिक्स परिवार, नेपालको आयोजनामा राष्ट्रिय मिक्स रिले दौड प्रतियोगिता पुस १४ गते हुने भएको छ । कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको सम्मानमा हुन लागेको प्रतियोगितामा मिक्स रिलेसहित ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक परिवारका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।

दस किलोमिटरको मिक्स रिले, पुरुष/महिला खुला ५ किलोमिटर दौड, भेट्रान महिला ३५ वर्षमाथि ५ किलोमिटर दौड, भेट्रान पुरुष ४१ देखि ५० वर्षसम्म र ५१ वर्षभन्दा माथि उमेरसमूहमा दौड हुने छ । आयोजकका अनुसार दौडमा करिब ४ सय खेलाडीको सहभागिता रहने छ ।

नेपालमा पहिलो पटक सडकमा मिक्स रिले हुन लागेको अध्यक्ष खत्रीले बताए । एक टिममा समान दुई–दुई पुरुष/महिला खेलाडी हुने छन् । प्रत्येकले २ किलोमिटर ५ सय मिटर दौड्नु पर्ने हुन्छ । सबै स्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ दशरथ रंगशालामै आएर टुंगिने छ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख ५० हजार रुपैयाँ खर्च हुने छ । नगद पुरस्कार पनि राखिएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.