लेख विवरण

प्रधानमन्त्री कप जिल्ला छनोट : ओम नगरले एमएमसीलाई १८१ रनले हरायो

प्रधानमन्त्री कप जिल्ला छनोट : ओम नगरले एमएमसीलाई १८१ रनले हरायो

हेटौडा । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत मकवानपुर जिल्ला छनोट खेलमा ओम नगर क्रिकेट क्लबले मकवानपुर मल्टिपल कलेज (एमएमसी) लाई १ सय ८१ रनले पराजित गरेको छ । ओम नगरले दिएको २ सय ५० रनको लक्ष्य पछ्याउने क्रममा एमएमसी १७.२ ओभरमा ६९ रन बनाउदै अलआउट भयो । ओम नगरको जितमा पियुस शर्माले ६ ओभरमा १ मेडन सहित १० रन खर्चेर सर्वाधिक ५ विकेट लिए । त्यस्तै रोहित ठाकुरले २ तथा असिम श्रेष्ठ, शुभ कंसाकार र आर्वत भट्टराईले समान १-१ विकेट लिए । एमएमसीका लागि ओपनर गुड्डु कुमार (२७), बिबेक सहनी (१५), इमरान आलम (१३) र रोहित केसरीले (१०) रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको ओमनगरले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाउदै २ सय ५० रन बनाएको थियो । टोलीका लागि कप्तान तथा ओपनर शुभ कंसाकारले ६३ रनको अर्धसतकीय पारी खेले । २९ बलको सामना गरेका कंसाकारले ७ चौंका र ४ छक्का प्रहार गरे । अर्का ओपनर गोकुल अधिकारीले ३९ रन बनाए । मेराज देवान र आस्तिक दाहाले समान २४-२४ रन बनाउदा गौरभ खड्काले अविजित ३९ रन बनाए । एमएमसीका लागि बलिङमा साकार गजुरेलले ३ तथा जेशान आलम, कुशल पौडेल, इमरान आलम, सुमित वाग्ले र एमडी ताहिरले समान १-१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच ओम नगरका पियुस शर्मा भए ।

प्रतियोगिता अन्तर्गत भोलिको खेलमा मकवानपुर क्रिकेट क्लब (एमसीसी) र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट (एचएसएम) भिड्ने छ ।

जिल्ला स्तरीय छनोट प्रतियोगितामा मकवानपुर क्रिकेट क्लब (एमसीसी), हेटौंडा स्कुल अफ म्यानेजमेन्ट (एचएसएम), मकवानपुर मल्टिपल कलेज (एमएमसी), ओम नगर क्रिकेट क्लब र रेड सोइल क्रिकेट क्लबको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको टोलीले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्ने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.