लेख विवरण

प्रो क्लब च्याम्पियनशिपमा आर्मी र पुलिस विजयी

प्रो क्लब च्याम्पियनशिपमा आर्मी र पुलिस विजयी

वीरगञ्ज । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनशिप टी–ट्वान्टी प्रतियोगितामा नेपाल आर्मी क्लब र नेपाल प्रहरी क्लबले जित हात पारेको छ ।

वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा पुलिसले एपिएफ क्लबलाई ८९ रनले स्तब्ध पारेको छभने दोस्रो खेलमा नेपाल आर्मी क्लबले पर्सा ११ लाई ६६ रनले पराजित गरेको हो ।

टस जितेर एपिएफले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४० रनको योगफल जोडेको थियो ।

पुलिसका लागि दिलीप नाथले ५१ रनको अर्धशतकीय पारी खेले भने सुनिल धमला ३५ रन र शङ्कर राणाले २२ रनको योगदान दिए । एपिएफका अविनाश बोहराले ३, रमेश कुर्मीले २ तथा कुमार खत्रीले १ विकेट हात पारे । एक सय ४१ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको एपिएफ क्लबले १३ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५१ रनमात्र जोड्न सक्यो ।

पुलिसका कप्तान प्रदीप एैरीले २२ रन जोड्नुबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कको योगफल जोड्न नसकेपछि पुलिससँग एपिएफ स्तब्ध भएको हो । एपिएफलाई सस्तैमा समेट्न पुलिसका शेर मल्लले २ दशमलव २ ओभर बलिङ गर्दै ३ रन खर्चिएर महत्त्वपूर्ण ५ विकेट लिनुभयो भने ललित राजवंशीले २ तथा सागर ढकाल र आरिफ शेखले समान १र१ विकेट लिनुभयो । प्रतियोगिताको ‘म्यान अफ द म्याच’ पुलिसका शेर मल्ल घोषित भएको छ ।

यस्तै आजै भएको दोस्रो खेलमा आर्मीले पर्सा ११ लाई ६६ रन अन्तरले पराजित गरेको छ । टस जितेर पर्सा ११ ले पहिले फिल्डिङ राजेपछि ब्याटिङमा उत्रेको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५९ रनको योगफल जोडेको थियो ।

आर्मीका लागि कुशल मल्लले ६३ रन, कप्तान विनोद दासले २६ रन, सन्तोष कार्कीले १६ रन, रोहित पौडेलले १३ रन र विवेक यादवले १२ रनको योगदान दिए ।

पर्सा–११ का कप्तान सन्दीप लामिछाने, रञ्जित कुमार, रुपेश सिंह, पवन सर्राफ र नसरुदिन अन्सारीले समान एकरएक विकेट लिए ।

एक सय ६० रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको पर्सा–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रनमात्र जोड्न सक्यो । पर्सा– ११ का लागि कप्तान लामिछानेले अविजित ३२ रन, इमरान शेखले १८ रन, रुपेश सिंहले १४ रन र हासिम अन्सारी १३ रनको योगदान गरे पनि टोलीलाई हारबाट जोगाउन सकेन ।

आर्मीका सहाब आलम र बसिर अहमदले समान ३र३ विकेट लिए भने कुशल मल्लले २ तथा राजेश मुलामीले १ विकेट लिए ।

जीर्ण बन्दै गएको वीरगञ्जस्थित नारायणी रङ्गशाला पुनःनिर्माणतर्फ तीनै तहको सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेसनलको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी ६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिता पुस ५ देखि १४ गतेसम्म सञ्चालन हुने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.