लेख विवरण

प्रधानमन्त्री कप जिल्ला छनोट : चौलागाँइको उत्कृष्ट बलिङमा एमसिसीको जित

प्रधानमन्त्री कप जिल्ला छनोट : चौलागाँइको उत्कृष्ट बलिङमा एमसिसीको जित

हेटौडा । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत जिल्ला छनोट खेलमा मकवानपुर क्रिकेट क्बल (एमसिसी)ले हेटौडा स्कुल अफ म्यानेजमेन्ट (एचएसएम)लाई १ सय २१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । मकवानपुर जिल्ला छनोट अन्तर्गत हेटौडाको हुप्रा चौर मैदानमा भएको खेलमा एमसिसीका लागि समिर चौलागाँइले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ५ विकेट लिए । यस क्रममा उनले ५.१ ओभर बलिङ गर्दै १ मेडन सहित मात्र ११ रन खर्चे ।

यसअघि टस जितेर ब्याटिङ गरेको एमसिसी ३३.१ ओभरमा अलआउट हुँदै १ सय ७९ रन बनाएको थियो । टोलीका लागि १० औं नम्बरमा ब्याटिङ गर्न आएका सन्तोष उपाध्यायले ३७ बलमा ६ चौंकाको मद्दतले सर्वाधिक ३९ रन बनाए । त्यस्तै रिजन ढकाल (३८), राम नरेश गिरी (२४), तक्षक सिम्खडा (२१) र सक्षम बस्ताकोटीले (१५) रन बनाए । ओपनर स्रिजन अधिकारीले १० रन बनाउदा सुमन सुनार र समिर चौलागाँइले समान ४-४ रन बनाए । एचएसएमका लागि बलिङमा कृष्ण यादवले ३ तथा राजा अहमद र विशाल फुयालले २(२ विकेट लिए । सन्तोष दास र अमन यादवले समान १-१ विकेट लिए ।

एमसिसीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा एचएसएमको टोली १५.१ ओभरमा मात्र ५८ रन बनाउदै अलआउट भयो । टोलीका लागि कप्तान तथा ओपनर विशाल फुयालले ३० रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । एमसिसीका लागि बलिङमा समिर चौलागाँइले ५ विकेट लिदा रिजन ढकाल र युनिस थापाले २-२ विकेट लिए । राम नरेश गिरीको नाममा १ विकेट रह्यो । खेलको प्लेयर अफ द म्याच एमसिसीका समिर चौलागाँइ भए ।

भोली हुने खेलमा ओम नगर क्रिकेट क्लब र मकवानपुर मल्टिपल कलेज (एमएमसी) भिड्ने प्रतियोगिता संयोजक बिनोद प्रधानले जानकारी दिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.