लेख विवरण

नेपाली सेनाका रोकायाले जिते गैँडाकोट हाफ म्याराथनको उपाधि

नेपाली सेनाका रोकायाले जिते गैँडाकोट हाफ म्याराथनको उपाधि

नवलपुर । गैँडाकोट हाफ म्याराथनको उपाधि नेपाली सेनाका धावक राजन रोकायाले जितेका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरिएको हाफ म्याराथनको २१ किलोमिटर दूरी उनले एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा गर्दै उपाधि जिते । विजेता रोकायाले नगद रु एक लाखसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

गैँडाकोटको विजय फाउण्डेशनले आज आयोजना गरेको प्रतियोगितामा नेपाली सेनाकै धावक नरेन्द्र सिंह रावत दोस्रो भए । रावतले निर्धारित दूरी एक घण्टा तीन मिनेट ३० सेकेण्डमा पूरा गर्दै रु ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा निर्धारित दूरी एक घण्टा पाँच मिनेट ५२ सेकण्डमा पूरा गर्दै काठमाडौँ धापासीका अजितकुमार यादव तेस्रो भए । यादवले रु २५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिए । त्यस्तै महिलातर्फ हाफ म्याराथनमा सशस्त्र प्रहरी बलकी सीमा चौधरी पहिलो भएकी छन् ।

निर्धारित दूरी एक घण्टा २७ मिनेट १४ सेकेण्डमा पूरा गर्दै महिलातर्फ पहिलो भएकी चौधरीले रु २५ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेको सापकोटाले बताए । हाफ म्याराथनमा सहभागीमध्ये उत्कृष्ट हुने (एक घण्टा १३ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्ने) थप सात जनालाई समेत नगद रु पाँच हजारसहित पुरस्कृत गरिएको अध्यक्ष सापकोटाले बताए । प्रतियोगितामा दुई सय ५० जनाले सहभागिता जनाएका थिए । निर्धारित दूरी पूरा गर्ने सबै धावकलाई मेडल प्रदान गरिएको सापकोटाले जानकारी दिए ।

साथै गैँडाकोट हाफ म्याराथन अन्तर्गत विद्यार्थीमैत्री पाँच किलोमिटर दौड प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)का प्रेमलाल कोहार पहिलो भएका छन् । कोहारले निर्धारित दूरी १५ मिनेट १९ दशमलव ७८ सेकेण्डमा पूरा गर्दै रु १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १५ मिनेट ३६ दशमलव ६६ सेकेण्डमा दूरी पार गर्दै तनहुँ ऋषिङका अमृत विक दोस्रो भए । विकले नगद रु पाँच हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

सो प्रतियोगिताको दूरी १५ मिनेट ५५ दशमलव ३७ सेकेण्डमा पूरा गर्दै काठमाडौँ चन्द्रागिरिका अनुज महत तेस्रो भएका छन् । उनले रु तीन हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा एक सय ८० जना विद्यार्थीको सहभागिता थियो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.