न्युजिल्यान्डविरुद्धको टी–२० सिरिजका लागि १५ सदस्यीय पाकिस्तानी टोली घोषणा
काठमाडौंँ । पाकिस्तानले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टी–२० सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । यो सिरिजका लागि पाकिस्तानी टोलीको कप्तानी तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई दिइएको छ । मोहम्मद रिजवानलाई उपकप्तान बनाइएको छ ।
अस्ट्रेलियासँग शृंखला हारेपछि पाकिस्तानको टोली अब न्युजिल्यान्ड भ्रमणमा जानेछ । पाँच खेलको टी–२० सिरिजको पहिलो खेल जनवरी १२ का दिन अकल्याण्डमा हुनेछ । त्यसपछि दोस्रो खेल १४ जनवरीमा र तेस्रो टी–२० जनवरी १७ मा ह्यामिल्टनमा खेलाइनेछ । चौथो टी–२० खेल जनवरी १९ मा हुनेछ भने सिरिजको अन्तिम खेल जनवरी २१ मा ह्याग्ले ओभल मैदानमा हुनेछ ।
अस्ट्रेलियामा भएको टेस्ट शृङ्खलामा लज्जास्पद हार बेहोरेपछि पाकिस्तानले अब न्युजिल्यान्डसँग टी–२० खेल्नुपर्ने भएको छ । पाकिस्तानका पूर्वकप्तान बाबर आजमका निकट सहयोगी मोहम्मद रिजवानलाई टोलीको उपकप्तान बनाइएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा शेयर गरेको पोस्टमा टोलीको बारेमा जानकारी दिएको हो । एकदिवसीय विश्वकपको पहिलो चरणबाट बाहिरिएपछि पाकिस्तानका कप्तान बाबर आजमले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएका थिए ।
न्युजिल्यान्डविरुद्धको टी–२० टिमः शाहीन शाह अफ्रिदी (कप्तान), मोहम्मद रिजवान (उपकप्तान), आमिर जमाल, अब्बास अफ्रिदी, आजम खान (विकेटकिपर), बाबर आजम, फखर जमान, हारिस रउफ, हसीबुल्लाह (विकेटकिपर), इफ्तिखार अहमद, मोहम्मद नवाज, मोहम्मद वासिम जुनियर, सैम अयूब, उसामा मीर, जमान खान र साहिबजादा फरहान ।

टिप्पणी लेख्नुहोस्