लेख विवरण

पूर्व कप्तान ज्ञानेन्द्र मल्ल एपिएफको प्रशिक्षकमा नियुक्त

पूर्व कप्तान ज्ञानेन्द्र मल्ल एपिएफको प्रशिक्षकमा नियुक्त

काठमाडौंँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल बिभागिय टोली एपिएफ क्लबको प्रशिक्षकमा नियुक्त भएका छन् । सन् २०२३ अगष्ट ४ मा खेल जिवनबाट सन्यास लिएका मल्लले आइसीसी लेभल-२ कोचिङ कोर्ष गरेका छन् । उनले काठमाडौं क्रिकेट टेनिङ सेन्टर तथा क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षक भएर काम गरिसकेका छन् ।

यङाल क्रिकेट क्लबबाट आफ्नो क्रिकेट यात्रा सुरु गरेका मल्लले सन् २००६ मार्चमा नामिबिया विरुद्ध नेपालका लागि सिनियर अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । सन् २०१८ अगस्टमा नेपालले नेदरल्याण्ड्स विरुद्ध आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने क्रिकेटर मध्ये उनी एक हुन्। मल्ल नेपालका लागि अन्तर्राष्ट्रिय शतक बनाउने सातौं नेपाली क्रिकेटर पनि हुन । उनले सन् २०१४ अक्टोबरमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री अन्तर्गत सिंगापुर विरुद्ध १२५ बलमा ११४ रन प्रहार गरेका थिए ।

मल्लले सन् २००५ मा यू-१५ राष्ट्रिय क्रिकेट टोलीको सदस्यको रूपमा नेपालका लागि डेब्यु गरेका थिए। त्यसपछि उनले एसीसी यू-१६ र यू-१९ नेपालको प्रतिनिधित्व गरे। जुनियर उमेर स्तरमा खेल्दा केही प्रभावशाली प्रदर्शन गरेका कारण उनलाई सन् २००६ को आईसीसी अन्डर-१९ क्रिकेट विश्वकपको लागि नेपाली टोलीमा समावेश गरिएको थियो। यू-१९ विश्वकपमा उनले ६ पारीमा १४५ रन बनाएका थिए । सोही विश्वकपको प्लेट सेमिफाइनलमा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दा मल्लले ४६ रनको अविजित पारी खेलेका थिए । उनको यहि प्रभावशाली प्रदर्शनका कारण सन् २००६ को आईसीसी इन्टरकन्टिनेन्टल कपमा नेपालबाट प्रतिनिधित्व गर्ने अवसर पाएका थिए ।


मल्ल टोली दबाबमा भएको बखत रन बनाउन सक्ने भरपर्दो ब्याट्सम्यानका रूपमा परिचित थिए । उनी राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य थिए र नेपालले पाएको धेरै ऐतिहासिक सफलताहरूमा उनले योगदान पुर्‍याएका थिए। उनले सन् २०१२ को एसीसी ट्रफी एलिटमा साउदी अरेबिया विरुद्ध एक दिवसीय खेलमा मात्र १७ बलमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए। त्यसपछि उनले २ अर्धशतक सहित ४२ को औसतमा २१२ रन बनाए, जसले नेपाललाई पहिलो पटक उपाधि जिताउन मद्दत गर्यो।

सन् २०१४ क्रिकेट विश्वकप छनोटमा क्यानडा विरुद्ध ८६ रन, २०१२ डिभिजन फोरको फाइनलमा अमेरिका विरुद्ध ६६ रन, २००८ एसीसी ट्रफी एलिटमा कतार विरुद्ध ७६, २००८ डिभिजन फाइभमा संयुक्त राज्य अमेरिका विरुद्ध ७५ महत्वपूर्ण र कर्नाटक इन्स्टिच्युट अफ क्रिकेट (भारत) विरुद्ध २१ बलमा ६७ रन उनको करियरका केही अविस्मरणीय पारी हुन्।

उनले सन् २०१४ बंगलादेशमा भएको आईसीसी ट्वान्टी-२० विश्वकपमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए जहाँ उनले २७.६६ को औसतमा तीन पारीमा ८३ रन बनाएका थिए।

मल्ले सन् २०१४ अक्टोबरमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा सिंगापुर विरुद्ध आफ्नो पहिलो शतक बनाएका थिए। उनले प्रतियोगिता दौरान ६ इनिङ्समा ४८.२० को औसतमा २४१ रन बनाएका थिए। यसअघि उनले प्रतियोगिताको तयारी अन्तर्गत नेपालले श्रीलंकाको रगामा क्रिकेट क्लब भ्रमण गर्दा प्रथम श्रेणी क्रिकेट टोली विरुद्धको अभ्यास खेलमा १५७ बलमा १६७ रन बनाएका थिए।

सन् २०१५ को आईसीसी विश्व क्रिकेट लीग डिभिजन २ मा उनले ६ इनिङ्समा ५९.०० को औसतमा २३६ रन बनाएका थिए। जस कारण नेपाल सन् २०१५–१७ आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि क्वालिफाई भयो तर डिभिजन वनमा बढुवा र २०१५–१७ आईसीसी इन्टरकन्टिनेन्टल कपको लागि योग्यता हासिल गर्न असफल भयो।

विश्व क्रिकेट लिगमा सन् २००८ डिभिजन पाँच देखि २०१५ डिभिजन दुई सम्म उनले ४५ इनिङ्समा ३६.०६ को औसतमा एक सतक र सात अर्धशतक सहित १ हजार २ सय ६२ रन बनाएका थिए।

सन् २०१८ जुलाईमा उनलाई नेदरल्याण्ड्स विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपालको टोलीमा समावेश गरिएको थियो। क्रिकेट विश्व कप छनोटको समयमा एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालको पहिलो एकदिवसीय खेल खेलेको थियो। उनले सन २०१८ अगस्ट १ मा नेपालका लागि नेदरल्याण्ड्स विरुद्ध ओडीआई क्रिकेटमा डेब्यू गरे।

सन् २०१८ अगस्तमा उनलाई एसिया कप क्वालिफायर प्रतियोगिताको लागि नेपाली टोलीको उप-कप्तान बनाइएको थियो। सन् २०१८ अक्टोबरमा उनलाई आईसीसी विश्व ट्वान्टी एशिया क्वालिफायर प्रतियोगिताको लागि पूर्वी उप-क्षेत्र समूहमा नेपालको टोलीमा समावेश गरिएको थियो ।

सन् २०१९ जुनमा उनलाई २०१८/२०१९ विश्व कप एशिया क्वालिफायर प्रतियोगिताको क्षेत्रीय फाइनलको लागि नेपालको टोलीको उप-कप्तान बनाइएको थियो। सन् २०१९ जुलाईमा मलेसिया विरुद्धको खेलमा नियमित कप्तान पारस खड्का चोटका कारण खेल्न नसकेपछि मल्लले नेपालको कप्तानी गरेका थिए। वर्षाले प्रभावित खेलमा नेपालले ७ विकेटले जित हात पार्दा मल्ललाई उनको अर्धशतक र स्मार्ट कप्तानीका लागि म्यान अफ द म्याच घोषित गरिएको थियो ।

उनले सन् २०१९ नोभेम्बरमा एमसिसी क्रिकेट क्लबको नेपाल भ्रमणको क्रममा मेरीलेबोन क्रिकेट क्लब विरुद्ध प्रथम श्रेणी क्रिकेटमा डेब्यू गरेका थिए।

मल्ल सन् २०१९ नोभेम्बरमा बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कप र २०१९ दक्षिण एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए। सन् २०१९ डिसेम्बरमा भएको दक्षिण एसियाली खेलकुदमा उनले माल्दिभ्स विरुद्ध आफ्नो करियरको पहिलो टि-२० शतक बनाए। तेस्रो स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई पाँच विकेटले हराउदै कास्य पदक जितेको थियो ।

सन् २०२० सेप्टेम्बरमा नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरुलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने प्रचलन सुरु गरेपछि उनी कन्ट्रयाक्टमा रहेका १८ खेलाडी मध्ये एक थिए । सन् २०२१ जनवरीमा उनलाई प्रधानमन्त्री कपका लागि बागमती प्रदेश टोली कप्तान बनाइएको थियो।

सन् २०२१ डिसेम्बरमा मल्ल र दीपेन्द्र सिंह ऐरीलाई कप्तान र उपकप्तानबाट क्रमशः अनुशासनको कारण बर्खास्त गरिएको थियो र यसको सट्टा नेपाल क्रिकेट संघ (क्यान) ले स्टार लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त गरेको थियो। त्यसको बावजुद, उनी त्यस समयमा नेपालले खेलेका लगभग सबै लिग-२ शृंखलाको खेलमा नेपालको १५ खेलाडीको टोलीमा नियमित रूपमा थिए।

सन् २०२२ अगस्तमा केन्या विरुद्धको पाँच खेलको टी-२० शृंखलाको तेस्रो खेलमा मल्लले ४१ बलमा ४६ रन बनाएका थिए। सोही शृङ्खलाको अन्तिम तथा निर्णायक खेलमा मल्लले ४४ बलमा ५९ रन बनाउदै टोलीलाई शृङ्खला ३-१ ले जिताउन मद्दत गर्दै प्लेयर अफ द म्याचको अर्वाड पाएका थिए ।

सन् २०२२ डिसेम्बरमा मल्लले नामिबिया विरुद्ध ओडीआई लिग-२ खेलमा ९४ बलमा ७५ रन बनाए । उक्त खेल अन्ततः वर्षाको कारणले रद्द भएको थियो। सन् २०२३ फेब्रुअरीमा नामिबिया विरुद्ध नेपालमा भएको शृंखलाको तेस्रो खेलमा मल्लले ७४ बलमा ६५ रन बनाएर आफ्नो अर्को अर्धशतक बनाए। नेपालले त्यो खेल ३ विकेटले जितेको थियो ।

सन् २०२३ अगस्तमा मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए।

एकदिवसीय क्रिकेटमा उनले नेपालका लागि ३७ खेलको ३७ पारीमा ७ अर्धसतक सहित २४.३३ को औसतमा ७५ उच्च स्कोर सहित ८ सय ७६ रन बनाएका छन । टी-२० अन्तराष्ट्रिय क्रिकेटमा ४५ खेलको ३९ पारीमा १ सतक र २ अर्धसतक सहित २३.२३ को औसतले उनले ८ सय ८३ रन बनाएका छन् । टी-२० अन्तराष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर १ सय ७ रन रहेको छ । लिस्ट ए क्रिकेटको ७७ पारीमा ११ अर्धसतक सहित २४.६८ को औसतमा १ हजार ८ सय २ रन बनाएका छन । लिस्ट ए मा उनको उच्च स्कोर अविजित ९१ रन रहेको छ । टी २० क्रिकेटको ६० पारीमा १ सतक र ३ अर्धसतक सहित २२.६२ औसतमा १ हजार २ सय ६७ रन बनाएका छन् । टी २० क्रिकेटमा उनको उच्च स्कोर १ सय ७ रन रहेको छ । मल्लले एकदिवसीय र लिस्ट ए क्रिकेटमा समान १-१ विकेट लिएका छन् ।

उनको प्रशिक्षणमा एपीएफले शनिबारदेखि सुरुहुन लागेको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्ने छ । खेलाडी जिवनमा राम्रो प्रदर्शन गर्न सफल भएका मल्लको अब हुने प्रशिक्षकको यात्रा कस्तो हुन्छ त्यो हेर्न बाँकी छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.