जिपी कोइराला कप ब्याडमिन्टन : उमेश र सोमालाई स्वर्ण
काठमाडौंँ । उमेश धिताल र सोमा गुरुङले जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिताको खुला सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । खुला सिंगल्सको पुरुषमा उमेश र महिलामा सोमा पहिलो भएका हुन् ।
नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको पुरुषमा टक्कर कुँवर दोश्रो तथा दिनेश केसी र रेवती कार्की तेश्रो भए । महिलामा पूजा राई दोश्रो तथा भावना राई र शर्मिला केसी तेश्रो बने ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको भेट्रान पुरुष ४५ वर्षमाथि सिंगल्समा रामसिंह तामाङले स्वर्ण, लेखनाथ पराजुलीले रजत तथा प्रजापति दाहाल र रामविनय श्रेष्ठले कांस्य जिते ।
पुरुष डबल्समा उमेश धिताल/दिनेश केसीको जोडी प्रथम, शोभाकर भण्डारी/चन्द्रबहादुर पाण्डेको जोडी द्वितीय तथा टक्कर कुँवर/बसन्त थापा र राजेश तुम्सिङ मगर/श्याम थापाको जोडी तृतीय भए ।
मिक्स डबल्समा उमेश धिताल/शर्मिला केसीको जोडी पहिलो, दिनेश केसी/पूजा राईको जोडी दोश्रो तथा केवल बानियाँ/सोमा गुरुङ र दीपबहादुर सिंह/रेखा अधिकारीको जोडी तेश्रो सथानमा रहे । सबै पाँच स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ८ हजार र ४ का दरले नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय अध्यक्ष योगेन्द्र कुँवर, आयोजक नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका अध्यक्ष गणेश भट्टराईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ७६ खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक प्रजापति दाहालले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्