प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी, मधेश प्रदेश र पुलिस क्लबको विजयी सुरुवात
काठमाडौंँ । शनिबार (आज) देखी काठमाडौंको टियु, मुलपानी र सिद्धार्थ रंगशाला भैरहवामा सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी, मधेश प्रदेश र पुलिस क्लबले विजयी सुरुवात गरेका छन् ।
मुलपानी मैदानमा भएको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्यो । टोलीको जितमा खेलको म्यान अफ द म्याच भएका अनिल साहले ८८ रनको योगदान दिए । ५४ बलको सामना गरेका साहले १४ चौंका र ३ छक्का प्रहार गरे । त्यस्तै कप्तान हरि शंकर साहले २४ रन बनाए ।
टस हारेर पहिले ब्याटिङ गरेको कोशी प्रदेश ४० ओभरमा १ सय २७ रन बनाउदै अलआउट भयो । टोलीका लागि कप्तान अंकित सुवेदी (४०) र फिर्दोस अन्सारीले (४१) रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंकमा खाता खोल्न सकेनन् । मधेशका लागि बलिङमा प्रदिप पासवानले सर्वाधिक ३ विकेट लिए । राजेश यादव, रंजित कुमार र पवन सर्राफले २-२ लिए । विशाल पटेलले एक सफलता हात पारे ।
लक्ष्य पछ्याएको मधेशले २०.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । कोशीका लागि बलिङमा सोनु मण्डलले २ तथा सुजन थपलियाले १ विकेट लिए ।
टियु क्रिकेट मैदानमा भएको अर्को खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ६८ रनले पराजित गर्यो । पुलिसले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा बागमतीको टोली ४३.३ ओभरमा २ सय १४ रन बनाउदै अलआउट भयो । बागमती लागि आशुतोष घिरैयाले ९२ रन बनाउदा अन्य खेलाडीहरुको प्रदर्शन सन्तोषजनक रहेन । इसान पाण्डे (४४), सोनु देबकोटा (१९), बिपिन आचार्य (१७), गौतम केसी (१३) र प्रतिक श्रेष्ठ (१०) रन बनाएर आउट भए । पुलिसका लागि बलिङमा सागर ढकालले ३ तथा करण केसी, राशिद खान र दिपेन्द्र सिंह ऐरिले २-२ विकेट लिए । ललित राजबंशीको नाममा १ विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले राशिद खानको सतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २ सय ८२ रन बनाएको थियो । टोलीका लागि राशिदले १ सय १२ बलमा १ सय ६ रनको सतकिय पारी खेले । यस क्रममा उनले ९ चौंका र ६ छक्का प्रहार गरे । आरिफ शेखले पनि ५७ रनको अर्धसतकिय पारी खेले । ६६ बलको सामना गरेका शेखले ५ चौंका र १ छक्का प्रहार गरे । अन्य खेलाडीहरुमा दिपेन्द्र सिंह ऐरि (२१), सुनिल धमला (२०), अर्जुन साउद (२०), करण केसी (१५) र दिलिप नाथले (१३) रन बनाए । बागमतीका लागि बलिङमा रिजन ढकाल र सुर्य तामाङले समान ३-३ विकेट लिदा गौतम केसी र सोनु देबकोटले १-१ विकेट लिए ।
सिद्धार्थ रंगशाला भैरहवामा भएको तेस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्यो ।

टिप्पणी लेख्नुहोस्