भरतपुर महानगरपालिका राष्ट्रपति रनिङ शिल्डमा प्रथम
काठमाडौंँ । सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भरतपुर महानगरपालिका प्रथम भएको छ । भरतपुर वडा नं ५ विकासचोकस्थित खेलमैदानमा दुई दिनसम्म चलेको प्रतियोगितामा भरतपुर महानगरपालिका १५ स्वर्ण पदकसहित प्रथम भएको हो ।
भरतपुरले एथलेटिक्स र करातेमा समान छ–छ स्वर्ण जित्दा भलिबलमा दुई र तेक्वान्दोमा एक स्वर्ण हात पार्यो । यस्तै भरतपुरले १८ रजत र १७ कास्य पदक पनि जित्न सफल भयो । एथलेटिक्समा नौ रजत जितेको भरतपुरले करातेमा आठ र तेक्वान्दोमा एक रजत जित्यो । प्रथम भएको भरतपुरले थप १७ कास्य जित्यो ।
प्रतियोगितामा खैरहनी नगरपालिका १५ स्वर्णसहित दोस्रो भएको छ । समान १५ स्वर्ण जिते पनि रजत पदकका आधारमा खैरहनीले दोस्रो स्थानमा चित्त बुझायो । खैरहनीले तेक्वान्दोमा आठ तथा एथलेटिक्समा सात स्वर्ण जित्यो । उसले १५ स्वर्णसहित १३ रजत र १७ कास्य जित्यो । खैरहनीले तेक्वान्दोमा नौ एथलेटिक्समा चार रजत जित्दा तेक्वान्दो र एथलेटिक्समा समान पाँच–पाँच तथा भलिबलमा एक र कबड्डीमा दुई कास्य हात पार्यो ।
दश स्वर्ण जितेको कालिका नगरपालिका तेस्रो भयो । कालिकाले करातेमा छ तथा एथलेटिक्समा चार स्वर्ण जित्यो । यस्तै उसले एथलेटिक्समा तीन र करातेमा दुई गरी पाँच रजत तथा करातेमा नौ र एथलेटिक्समा चार गरी १३ कास्य हात पार्यो । रत्ननगरले छ स्वर्ण, पाँच रजत र १७ कास्य जित्दा राप्तीले पाँच स्वर्ण र पाँच रजत तथा १७ कास्य जित्यो ।
यस्तै माडीले दुई स्वर्ण, पाँच रजत र चार कास्य तथा इच्छाकामना गाउँपालिकाले एक स्वर्ण, तीन रजत र चार कास्य हात पार्यो ।
विजेता टिम तथा खेलाडीलाई बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा र आयोजक चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा सातै पालिकाबाट एक हजार चार सय बढी खेलाडी सहभागी थिए । प्रतियोगिताबाट माघमा हुने राष्ट्रपति रनिङ शिल्डका लागि चितवनबाट खेलाडी छनोट हुने समितिका अध्यक्ष गुरुङले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्