लेख विवरण

इंग्ल्यान्डविरुद्धको पहिलो दुई टेस्टका लागि भारतीय टोली घोषणा

इंग्ल्यान्डविरुद्धको पहिलो दुई टेस्टका लागि भारतीय टोली घोषणा

काठमाडौंँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजको पहिलो दुई खेलका लागि भारतीय टोली घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा घोषणा गरिएको टोलीमा युवा खेलाडी ध्रुव जुरेलले पनि स्थान बनाएका छन् । यस्तै अनुभवी तीव्र गतिका बलर मोहम्मद सामीलाई टोली बाहिर राखिएको छ । विकेटकिपर ब्याट्सम्यान इशान किशनलाई पनि भारतीय टोलीमा समावेश गरिएको छैन । अर्का युवा खेलाडी यशस्वी जैसवालले पनि टोलीमा स्थान बनाएका छन् ।

भारत र इंग्ल्याण्डबीच जनवरी २५ बाट पाँच म्याचको टेष्ट शृंखला सुरु हुँदैछ । सिरिजको पहिलो खेल हैदरावादमा हुनेछ ।

तीव्र गतिका बलर जसप्रित बुमराह र मोहम्मद सिराजले भारतीय टोलीमा पुनरागमन गरेका छन् । उनीहरु अफगानिस्तानविरुद्धको टी–२० सिरिजमा सहभागी छैनन् । आवेश खान र मुकेश कुमारले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् । भारतीय टोलीमा अक्षर पटेल र कुलदीप यादव पनि छन् । अलराउण्डर रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् । तर इशान किशनलाई भने मौका दिइएको छैन । ईशानको बारेमा धेरै अफवाहहरु फैलिएका थिए । तर मुख्य प्रशिक्षक राहुल द्रविडले उनी आफै ब्रेकमा गएको बताए ।

ध्रुव जुरेलले भारतीय टेस्ट टोलीमा पहिलो पटक स्थान बनाएका छन् । उनी घरेलु क्रिकेटमा उत्तर प्रदेशका लागि खेल्छन् । उनले रेस्ट अफ इन्डिया, यू–१९ र भारत 'ए' बाट पनि खेलेका छन् । घरेलु क्षेत्रमा उनको राम्रो रेकर्ड छ । ध्रुवले प्रथम श्रेणी क्रिकेटको १५ खेलमा ७ सय ९० रन बनाएका छन् । यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन् । यो सँगै उनले लिस्ट ए मा १० खेल खेलेका छन् । ध्रुवले इन्डियन प्रिमियर लिग पनि खेलेका छन् ।

इंग्ल्यान्डविरुद्धको पहिलो दुई टेस्टका लागि भारतीय टोलीः रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जयसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), केएस भरत (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), रविचन्द्रन अश्विन, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज, मुकेश कुमार, जसप्रित बुमराह र आवेश खान ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.