लेख विवरण

वर्षकै पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपन सुरु, जोकोभिचले प्रिज्मिकको सामना गर्ने

वर्षकै पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपन सुरु, जोकोभिचले प्रिज्मिकको सामना गर्ने

काठमाडौंँ । सर्बियाका स्टार नोभाक जोकोभिचले हरेक वर्ष झैं २०२४ को सुरुवात अस्ट्रेलियन ओपन ग्रान्डस्लाम उपाधिसँगै गर्ने योजना बनाएका छन् । आफ्नो हातको चोट अहिले पूर्ण रुपमा निको भएको उनको भनाइ छ । वर्षको पहिलो ग्राण्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपन आइतबारदेखि सुरु भएको छ । जोकोभिचले आइतवार क्वालिफायर खेलाडी क्रोएसियाका डिनो प्रिज्मिकसँग आफ्नो अभियान सुरु गर्नेछन्।

उनी लगातार दोस्रो पटक अस्ट्रेलियन ओपनको उपाधि जित्ने प्रयासमा हुनेछन् । जोकोभिचले कुल २४ ग्रान्डस्लाम एकल उपाधि जितेका छन् । जोकोभिचले गत साता युनाइटेड कपमा सर्बियाका लागि खेल्दै गर्दा हातमा चोट लागेको थियो । जसकारण क्वाटरफाइनलमा उनले दुई चरणको उपचार गर्नुपरेको थियो र जोकोभिच अस्ट्रेलियाका एलेक्स डी मिनौरसँग पराजित भएका थिए।

जोकोभिचले वर्षको सुरुमा अस्ट्रेलियन ओपनको उपाधि जित्ने बानी बसालेका छन् । मेलबोर्न पार्कमा उनको जीतको क्रम २८ म्याच हो जसमा जोकोभिचले १० पुरुष एकल ट्रफी जितेका छन्, जुन उनको रेकर्ड २४ ग्रान्ड स्लाममा महत्वपूर्ण योगदान पुर् याएको छ। जोकोभिचले यानिक सिनर, गत वर्षको उपविजेता स्टेफानोस सिटसिपास, अलेक्जेन्डर ज्वेरेभ, टेलर फ्रिट्जजस्ता युवा खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । स्पेनका कार्लोस अल्काराज उनको उपाधिको बाटोमा आउन सक्छन् । यी दुईबीच निकै रोमाञ्चक खेल हुने गरेको छ । यस्तै भेट्रान खेलाडी राफेल नाडालले चोटका कारण प्रतियोगितामा खेल्न पाउने छैनन् ।

महिलातर्फ डिफेन्डिङ च्याम्पियन आर्यना साबालेन्काले पहिलो चरणमा इला सिडेलको सामना गर्नेछिन् । उनीहरुबाहेक जापानी खेलाडी नाओमी ओसाका आफ्नी छोरीका लागि ग्रान्डस्लाम जित्न चाहन्छिन् । यस्तै युवा अमेरिकी खेलाडी कोको गौफले पनि उपाधि जित्न सक्दो प्रयास गर्नेछिन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.