दोस्रो टी–२० खेलमा पाकिस्तान न्युजिल्यान्डसँग पराजित
काठमाडौंँ । न्युजिल्यान्डले दोस्रो टी–२० खेलमा पाकिस्तानलाई पराजित गरेको छ । शाहीन अफ्रिदीको कप्तानीमा रहेको पाकिस्तान २१ रनले पराजित भएको थियो । पाकिस्तानले जितका लागि १ सय ९५ रनको लक्ष्य पाएको थियो । तर टोली १९.३ ओभरमा १ सय ७३ रनमा समेटियो । पाकिस्तानका लागि बाबर आजम र फखर जमानले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।
बाबर आजमले ४३ बलमा ६६ रन बनाए । उनले ७ चौका र २ छक्का प्रहार गरे । फखर जमानले २५ बलमा ५० रन बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरे । यसबाहेक पाकिस्तानका बाँकी ब्याट्सम्यानले निराश बनाए । यो जितपछि आयोजक न्युजिल्यान्डले ५ टी–२० म्याचको सिरिजमा २–० को अग्रता लिएको छ । न्युजिल्याण्डले पहिलो टी–२० खेलमा पाकिस्तानलाई ४६ रनले पराजित गरेको थियो ।
न्युजिल्यान्डका एडम मिल्ने सबैभन्दा सफल बलर साबित भए । मिल्नेले ४ ओभरमा ३३ रन खर्चेर ४ खेलाडीलाई आउट गरे । यस्तै बेन सियर्स, इश सोधी र टिम साउथीले २–२ सफलता हात पारे ।
यसअघि पाकिस्तानका कप्तान शाहीन अफ्रिदीले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । न्युजिल्यान्डका लागि ओपनर फिन एलेनले सर्वाधिक रन बनाए । एलेनले ४१ बलमा ७४ रन बनाए । उनले ७ चौका र ५ छक्का प्रहार गरे । बलिङतर्फ पाकिस्तानका हारिस रउफले ३ विकेट लिए । अब्बास अफरीदी २ सफलता हात पारे। त्यस्तै उसामा मीर र आमेर जमालले समान १–१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्