लेख विवरण

विलियम्सन पुनः घाइते, खेलको बीचमै छाड्नुपऱ्यो मैदान

विलियम्सन पुनः घाइते, खेलको बीचमै छाड्नुपऱ्यो मैदान

काठमाडौंँ । न्युजिल्यान्डका ब्याट्सम्यान केन विलियम्सन पुनः एक पटक घाइते भएका छन् । पाकिस्तानविरुद्धको ह्यामिल्टन टी–२० मा उनको ह्यामस्ट्रिङमा समस्या देखिएको थियो र त्यसपछि उनी मैदानबाहिर जानुपरेको थियो । उनको अनुपस्थितिमा टिम साउथीले न्युजिल्यान्डको कप्तानी सम्हालेका थिए ।

आइतबार सम्पन्न खेलको पहिलो इनिङ्समा १० औं ओभरपछि केन विलियम्सनले फिजियोलाई बोलाएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले एक विकेटको क्षतिमा १ रन बनाएको थियो । विलियम्सनले १५ बलमा २६ रन बनाएका थिए । १० औं ओभरमा रन लिने क्रममा उनको ह्यामस्ट्रिङमा समस्या देखिएको थियो । त्यसपछि फिजियोले उनलाई केही समय पिचमा उपचार गराएपछि रिटायर्ड हर्ट हुन सल्लाह दिएका थिए ।

दोस्रो इनिङ्समा पाकिस्तानको टोली ब्याटिङ गर्न आउँदा विलियम्सन मैदान आएनन् । सावधानीको उपायको रूपमा, उनलाई आराम दिने निर्णय गरियो।

विलियम्सन विगत एक वर्षदेखि लगातार घाइते हुँदै आएका छन् । आईपीएल २०२३ को पहिलो खेलमा उनको घुँडाको लिगामेन्ट भाँचिएको थियो । त्यसपछि उनी लामो समयसम्म क्रिकेट मैदानबाट टाढा रहनुपरेको थियो । सन् २०२३ को विश्वकपअघि उनी पूर्ण रुपमा रिकभर हुन सफल भएका थिए । विश्वकपमा बंगलादेशविरुद्धको खेलका क्रममा उनको हातको औंला भाँचिएको थियो । त्यसपछि उनी चार खेलका लागि बाहिर हुनुपरेको थियो । यो क्रम अझै जारी रह्यो । उनलाई डिसेम्बरमा बंगलादेशको न्युजिल्याण्ड भ्रमणका लागि टी–२० टोलीमा समावेश गरिएको थियो तर चिकित्सकीय सल्लाहपछि पछि हट्नुपरेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.