दोस्रो टी–२० मा भारतले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्यो
काठमाडौंँ । इन्दोर टी–२० क्रिकेटमा भारतीय टोलीले अफगानिस्तानलाई पराजित गरेको छ । भारतले ६ विकेटको शानदार जित दर्ता गरेको छ । भारतले जितका लागि १७३ रनको लक्ष्य पाएको थियो । रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीले यशस्वी जैस्वाल र शिवम दुबेको उत्कृष्ट इनिङ्सको मद्दतमा १५.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यससँगै भारतले ३ टी–२० खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।
भारतका लागि यशस्वि जयसवालले सर्वाधिक ३४ बलमा ६८ रन बनाए। युवा ओपनरले आफ्नो पारीमा ५ चौका र ६ छक्का प्रहार गरे । शिवम दुबेले ३२ बलमा ६३ रन बनाए। उनले आफ्नो इनिङमा ५ चौका र ४ छक्का प्रहार गरे । विराट कोहलीले २९ बलमा १६ रन बनाए । भारतका कप्तान रोहित शर्मा र विकेटकीपर ब्याट्सम्यान जितेश शर्मा शून्यमा आउट भए । तर यशस्वि र शिवम दुबेको शानदार पारीको कारण भारतले खेल जित्न सफल भयो ।
अफगानिस्तानका लागि करिम जन्नत सर्वाधिक सफल बलर साबित भए । जन्नतले भारतका २ ब्याट्सम्यानलाई आफ्नो शिकार बनाए । यसबाहेक फजुल्लाह फारुकी र नवीन उल हकले १–१ सफलता हात पारे ।
यसअघि भारतीय कप्तान रोहित शर्माले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा १७२ रन बनाएको थियो । अफगानिस्तानका लागि अलराउन्डर गुलबादिन नाइबले ३५ बलमा सर्वाधिक ५७ रन बनाए ।उनले आफ्नो तूफानी पारीमा ५ चौका र ४ छक्का प्रहार गरे । भारतका लागि अर्शदीप सिंह सर्वाधिक सफल बलर बने । अर्शदीपले ४ ओभरमा ३२ रन दिएर ३ ब्याट्सम्यानलाई आफ्नो शिकार बनाए । यसबाहेक अक्षर पटेल र रवि बिश्नोईले २–२ सफलता हात पारे । शिवम दुबेले १ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्