प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीमाथी सुदुरपश्चिम प्रदेशको जित
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ रंगशाला क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय ५९ रनको लक्ष्य सुदुरपश्चिमले २९.३ ओभरमा ५ विकेट गुमाउदै पुरा गर्यो । सुदुरपश्चिमको जितमा शेर मल्लले ४४ बलमा ४२ रनको अविजित पारी खेले । यस क्रममा उनले ४ चौंका र २ छक्का प्रहार गरे । त्यस्तै खड्क बोहरा २१, टेक रावत १८, किरण ठगुना १६ र नरेन भट्टले ११ रन बनाए । नारायण जोशी २२ रनमा अविजित रहे ।
लुम्बिनीका लागि बलिङमा अभिषेक गौतमले ३ तथा कृष्ण कार्की र अजय चौहानले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ४८.४ ओभरमा अलआउट हुँदै १ सय ५८ रन बनाएको थियो । टोलीका लागि प्रज्जवल थापा ४२, एमडी हुसैन २६, मिनरल गुरुङ १४ र दिलसाद अलीले १० रन बनाए । कृष्ण कार्की १२ रनमा अविजित रहे ।
सुदुरपश्चिमका लागि बलिङमा नारायण जोशीले सर्वाधिक ३ विकेट लिए । भोज राज भट्ट र नरेश साउदले २-२ विकेट लिए । मिलन बोहराले १ सफलता हात पारे ।

टिप्पणी लेख्नुहोस्