युवराज सिंहको रेकर्ड २४ वर्षपछि तोडियो, यी खेलाडीले खेले ब्रायन लाराजस्तै ऐतिहासिक पारी
काठमाडौंँ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को घरेलु प्रतियोगिता कूच बिहार ट्रफीको फाइनल खेल कर्नाटक र मुम्बईबीच भएको थियो । खेल केएससीए नेवुले स्टेडियममा सम्पन्न भएको थियो। पहिलो इनिङ्समा अग्रता लिएको कर्नाटक यस सिजनको कूच बिहार ट्रफीको च्याम्पियन बनेको छ । यस खेलमा कर्नाटकका एक युवा ब्याट्सम्यानले ऐतिहासिक पारी खेल्दै युवराज सिंहको २४ वर्ष पुरानो रेकर्ड तोडेका छन् ।
यो खेलमा कर्नाटकका ब्याट्सम्यान प्रखर चतुर्वेदीले इतिहास रचेका छन् । उनले अविजित ४०४ रन बनाएका छन् । उनले ६ सय ३८ बलको सामना गर्दै ४६ चौका र ३ छक्का प्रहार गरे । योसँगै उनी यस प्रतियोगिताको फाइनलमा ४०० रन बनाउने पहिलो ब्याट्सम्यान पनि बनेका छन् । उनको पारीको आधारमा कर्नाटकले आफ्नो पहिलो इनिङ ८९० रनमा घोषित गरेको थियो । यो इनिङपछि उनलाई वेस्ट इन्डिजका महान ब्याट्सम्यान ब्रायन लाराको इनिङसँग तुलना गर्न थालिएको छ । ब्रायन लारा टेस्ट क्रिकेटको एक इनिङमा ४०० रन बनाउने एक मात्र ब्याट्सम्यान हुन् ।
प्रखर चतुर्वेदीले युवराज सिंहको २४ वर्ष पुरानो रेकर्ड पनि तोडेका छन् । उनी बिहार ट्रफीको फाइनलमा युवराजलाई पछि पार्दै सबैभन्दा ठूलो इनिङ खेल्ने ब्याट्सम्यान बनेका छन् । प्रखर चतुर्वेदीभन्दा पहिले युवराज सिंहले सन् १९९९ डिसेम्बरमा बिहार टोलीविरुद्ध ३५८ रन बनाएका थिए । युवराजले यो इनिङ एमएस धोनीको अगाडि खेलेका थिए । त्यस्तै सन् २०११–१२ को सिजनमा महाराष्ट्रका लागि आसामविरुद्ध विजय जोलले बनाएको अविजित ४५१ रन प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोर हो ।
यस खेलमा कर्नाटकले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । त्यसपछि मुम्बईले पहिलो इनिङ्समा ३ सय ८० रन बनाएको थियो । मुम्बईका लागि यश म्हात्रेले सर्वाधिक १४५ रन बनाए । तर प्रखर चतुर्वेदीको इनिङले यो खेललाई एकतर्फी बनायो । उनको पारीको आधारमा कर्नाटकले पहिलो पारीमा ५१० रनको ठूलो अग्रता हासिल गरेको थियो र चौथो दिन दुवै टोलीले खेल बराबरीमा चित्त बुझाउने निर्णय गरेका थिए। पहिलो इनिङ्समा अग्रता लिएका कारण कर्नाटक च्याम्पियन घोषित भएको थियो ।

टिप्पणी लेख्नुहोस्